डोटीमा आएको भूकम्पले ठूलो क्षति, ६ जनाको मृत्यु

काठमाडौं । डोटी जिल्लामा आएको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार राति र बुधबार बिहान आएको भूकम्पमा परेर पूर्वीचौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रहरी प्रमुख (डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

खप्तड केन्द्र भएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको बताएकी छिन् ।

भूकम्पमा परेर पाँच जना घाइते भएका छन् । एउटा बच्चाको सकुशल उद्धार गरिएको छ ।

पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान प्रहरीको छ । भूकम्प गएपछि मानिसहरू रातभर घरबाहिर बसेका छन् ।

घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ ।

बुधबार राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Published : Wednesday, 2022 November 9, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया