ओलीको फण्डा र कथित राष्ट्रवादको एजेण्डाले हावा खायो

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली बोल्न निकै माहिर मानिन्छन् । कम्युनिस्ट भएका कारण पनि बोल्ने कला ओलीमा छ ।

ओलीले जे बोल्छन् त्यो गर्दैनन् भन्नेहरू धेरै भेटिन थालेका छन् । ओलीले २०७४ को निर्वाचनका बेला बोलेका कुरा पूरा भएका छैनन् । त्यो बेला ओलीले बोल्ने हरेक कुरालाई जनताले पत्याए । साथ पनि दिए । यस पटक त्यस्तो छैन । ओलीले फण्डा भने गरिरहेका छन् ।

ओलीले घर–घरमा ग्यासको पाईप जाडिदिने भनेका थिए । ओलीले पाईपको कुरा गर्नै छाडेका छन् ।

भूपरिवष्ठित मुलुकमा पानीजहाज चलाउँछु भनेर सपना बाँडे । अहिले आएर ओलीले पानीजहाज समुद्रमा पो हो मैले चलाउन भनेको भनेर बोल्न थालेका छन् । त्यस बेला ओलील समुद्रबाट भारतको बाटो हुँदै नेपालमा पानीजहाज चलाउने भनेका थिए ।

भारतसँग त्यो विषयमा एक शब्द कुरा पनि गरेनन् । पानीजहाजको कार्यालय नै खोलेर ओलीले करोडौं रुपियाँ सिध्याएका छन् ।

चीनबाट चुच्चे रेल ल्याउने र पोखरा र कुश्मामा स्टेशन राख्ने भनेका थिए । त्यो पनि त्यसै बिलाएर गएको छ ।

त्यस बेला ओलीले राष्ट्रवादको नारालाई उग्ररुपमा उठाए । जनताले पत्याइदिए । २०७४ को निर्वाचनमा तत्कालीन नेकपालाई जनताले झण्डै दुईतिहाई बहुमत पनि दिए ।

तर, ओलीले सरकार पनि चलाउन सकेनन् । पार्टी पनि बचाउन सकेनन् । सरकार पनि साढे तीन वर्षमा ढल्यो । नेकपा फुटेर दुई टुक्रा बन्यो । एमाले पनि फुटेर दुई टुक्रा भयो । सरकार र पार्टी आफू चलाउन नसक्ने । विदेशीलाई दोष दिएर पन्छिन खोज्ने ओलीको हर्कत पनि जनताले बुझेका छन् ।

सरकार चलाउन असफल भएका ओलीले राष्ट्रपति विद्या भण्डारीलाई उचालेर संविधान विपरितका हर्कत पनि गरे । भण्डारीलाई एमालेको नेता जस्तो बनाएर शीतल निवासबाट सक्रिय राजनीति गराए ।

संविधान विपरित दुई पटक संसद विघटन गरे । सर्वोच्च अदालतले संसदलाई बचाइदियो । भण्डारीको बलमा ओलीले गर्नसम्मको हर्कत गरे । बाध्य भएर नेपाली कांग्रेससहितका ५ दल मिलेर ओलीको निरंकुशता र अहँकारलाई ठेगान लगाए ।

ओलीले २०७९ को निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला एजेण्डा बिहीन बनेका छन् । मतदातहरूसँग भोट माग्न पनि ओली र एमालेका नेताहरूलाई कठिन भएको छ । लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलहरू सत्तागठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।

ओली भने प्रतिगामी र पूर्व पञ्चहरू तथा चिनियाँ शक्तिको पुच्छरहरूलाई साथमा लिएर चुनावमा होमिएका छन् । कमल थापा, राजेन्द्र लिङदेन, उपेन्द्र यादव, एकनाथ ढकाल जस्ता अनुहार बोकेर चुनावमा जानु परेको छ ।

कुनै पनि एजेण्डा नभएपछि ओलीले भारतलाई गाली गर्न थालेका छन् । चुनावका बेला भारतलाई गाली गर्ने र कथित राष्ट्रवादी बनेर चुनाव जित्ने रणनीति ओलीले अपनाएका छन् । ओलीको भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने रणनीति फेल खाएको छ ।

मतदाताले ओलीको राजनीति बुझेका छन् । ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराका नाममा राजनीति गर्न खोजेको कुरा मतदाताले बुझेका छन् । कुटनैतिक कुराहरूमा भारतसँग झगडा गरेर कहिल्यै पनि पूरा हुँदैन ।

समस्या छभने भारतसँग कुटनैतिक रुपमा वार्ता गर्नुपर्छ । ओलीले चुनावमा डडेल्धुरामा गएर छिमेकी राष्ट्र भारतलाई गाली गरेर राष्ट्रवादी हुन सकिदैन ।

ओली राष्ट्रवादी हुन् भने तत्कालीन समयमा भारत भ्रमणमा गएका बेला किन भारतसँग कुरा गर्न सकेनन् । भारतबाट बिरालो बनेर आएका ओलीको कथित नक्कली राष्ट्रवादलाई जनताले पत्याएका छैनन् । ओलीको बोली र व्यहारबाट जनता आजित बनेका छन् । मंसिर ४ गते मतदाताले आफ्नो फैसला गर्नेछन् । ओली र एमालेले राम्रोसँग पाठ सिक्नेछ ।

Published : Tuesday, 2022 November 8, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया