गगन थापाले गरेका कामहरू एमालेद्वारा कब्जा, राजन भट्टराईको मुखपत्रले मतदाताहरू चकित

काठमाडौं । काठमाडौं–४ मा एमालेको क्षेत्र नं. ४ स्तरीय सूचना तथा प्रविधि समन्वय कमिटीले डा.राजन भट्टराईले पाँच वर्षको समयमा गरेको काम भनेर सार्वजनिक गरेका विषयहरू अधिकांश झुठ्ठा रहेको मतदाताहरूले आरोप लगाएका छन् ।

एमालेको सूची र त्यसमा विनियोजित बजेटमा पत्याउनै नसक्ने कुराहरू रहेको आरोप छ ।

डा.भट्टराईले गरेको भनिएका कामहरूको सूची हेर्ने होभने पाँच वर्षमा क्षेत्र नं. ४ भित्र शुरु भएका सबै कामको सूची राखिएको छ । एमालेको सूचीमा वडाले गरेको काम, नगरपालिकाले गरेको काम, प्रदेशले गरेको काम र केन्द्र सरकारले गरेका सबै काम त्यो सूचीमा राखिएको छ । ती सबै काम एमालेका नेता डा.भट्टराईले गरेको उल्लेख छ ।

डा.भट्टराई २०७४ सालमा काठमाडौं–४ का उम्मेदवार हुन् । डा.भट्टराई त्यस बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग ३५ सयको मतान्तरले पराजित भएका थिए ।

झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका पालामा डा.भट्टराई तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको परराष्ट्रमामिला सल्लाहकारमा नियुक्त भएका थिए ।

आफ्नो कार्यकालमा काठमाडौं–४ को कुनै पनि मुद्दामा डा.भट्टराईको प्रत्यक्ष सहभागिता नदेखिएको मतदाताहरूको भनाइ छ ।

कुनै पनि विकास निर्माणको काममा दबाब दिनको लागि पत्र लेखेको, आयोजना माग गर्नको लागि निवेदन लेखेको र सरोकारवाला निकायमा धाउन गएको सार्वजनिक भएको छैन ।

चुनावको मुखमा जारी डा.भट्टराईको प्रचारपत्रमा भने एक्कासि सबै कामको सूची अटेको छ ।

सोही पर्चाको अन्तिमतिर कमलपोखरीको तस्बिर राखेर डा.भट्टराईले त्यसको विकासको लागि आफूले ७ करोड ५० लाख विनियोजन गरिएको उल्लेख गरेका छन् । जबकि पटक–पटक विवादित बनेको कमलपोखरीमा विवाद मिलाउन होस् या अन्य आर्थिक सहायतामा कतै नजोडिएका डा.भट्टराईले कमलपोखरीको लागि आफूले बजेट पारेको दाबी गर्न भ्याएका छन् ।

डा.भट्टराई आफैंले तयार पारेको भिडियोमा कमलपोखरीको प्रहरी चौकी हटाउन पहल गरेकोसम्म कुरा थियो ।

एमालेका नेता डा.भट्टराईले अहिले बजेट नै विनियोजन गरेको उल्लेख गरेका छन् । जबकि यसमा सांसद विकास कोष र काठमाडौं महानगरपालिकाको बजेट परेको छ । डा.भट्टराईले राखेको भिडियोमा एमालेकै पूर्व मेयर विद्यासुन्दर शाक्यले समेत उनले बजेट दिएको विषयलाई स्वीकारेका छैनन् ।

भिडियोमा शाक्यले कुनै न कुनै हिसाबले डा.भट्टराईको समेत सहयोग रहेको बताएका छन् ।

डा.भट्टराईले कमलपोखरीमा बजेट पारेको कुरा चुनावी प्रचारका लागि मात्रै भएको आरोप छ ।

एमालेको १२ पन्ने पर्चामा डा.भट्टराईले विभिन्न सडक आयोजनाको नाम उल्लेख छ । ती सडक आयोजनाहरू उपत्यका विकास प्राधिकरणमा गगन थापाले पटक–पटक निवेदन दिएर बनाएका सडकहरू छन् ।

बाँसबारी बुढानीलकण्ठ मूल सडकको गणेशचोकदेखि, चुनीखेलको कौडोल सापाटार सडक निर्माणको कार्य सम्पन्न भैसकेको छ । ३.७ किलोमिटर लामो यो सडक निर्माणले कही वर्षअघिसम्म दुर्गम र पिछडिएको भान हुने कौडोल सापाटार क्षेत्रको कायापलट नै भएको छ ।

गगनले बनाएको सडक पनि डा.भट्टराईले आफूले बनाएको भनेर दाबी गरेपछि मतदाताहरू चकित परेका छन् ।

धोबीखोलाको माथिल्लो भेगको निर्माणमा कुनैपनि भूमिका नखेलेका एमाले नेता डा.भट्टराईले यसलाई पनि आफूले गरेको कामको सूचीमा राखेका छन् ।

आयोजना निर्माणसम्पन्न भएपछि गएर फोटो खिचाएको भनेर डा.भट्टराई त्यतिबेला विवादित समेत बनेका थिए ।

डा.भट्टराईले कति मिथ्या कुरालाई यो पर्चामा समेटेका छन् भन्ने कुरा उनले अन्तिममा राखेको कामको सूची हेर्दा थाहा हुन्छ ।

लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालयको रुपमा विकास गर्नेगरी नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नै बजेटबाट बनाएको कवि कुञ्जलाई डा.भट्टराईले आफ्नो पालामा बनाएको भनेर दाबी गरेका छन् ।

जबकि यसमा कुनैपनि निकायको संलग्नता छैन । प्रज्ञाको यो निर्णय पुरातत्वको नियमविपरीत रहेको भनेर विवादित समेत बनेको छ ।

वडादेखि केन्द्र सरकारले बनाएका सबै परियोजना जोडेर सामान्य सांसदले १६६ वर्षमा गर्ने काम डा.भट्टराईले पाँच वर्षमा गरेको भनेर उनले आफ्नो मुखपत्रमा प्रकाशित समेत गराएका छन् । उनले ३० लाखको खुद्रे बजेटदेखि १० करोड रुपियाँसम्मका परियोजनामा आफ्नो दाबी गरेका छन् ।

चुनावको मुखमा जनता झुक्याउनको लागि एमालेका डा.भट्टराईले गरेको यो प्रयासले जनता अझै पनि चुनावी पर्चामा जे लेख्यो त्यही पत्याउँछन् भन्ने गलत सोचाइँमा डा.भट्टराई रहेको तथ्यलाई उजागर गरेको छ ।

Published : Monday, 2022 November 7, 10:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया