सभापति बानियाँको खुलासाले कांग्रेसका उम्मेदवारहरूभित्र खुसीले उथलपुथल

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनको तयारीको विषयमा भइरहेका प्रचार प्रसार र तयारीका बारेमा प्रदेश सभाका उम्मेदवारहरूसँग परामर्श गरेका छन् ।

शुक्रबार भर्चुअल माध्यमबाट सभापति बानियाँले पार्टीबाट प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरूसँग निर्वाचनको तयारीका विषयमा परेका समस्याहरू, निर्वाचन परिचालनको अवस्थालगायतको बारेमा छलफल गरेका हुन् ।

प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना उम्मेदवारहरू सहभागी थिए ।

बानियाँले लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिम्मेवार ढंगले अभियानमा लाग्न निर्देशन दिएका छन् ।

चुनावी तयारीको क्रममा केही समस्या, केही चुनौतीहरू आउनसक्ने भन्दै उनले त्यसलाई सुझबुझका साथ समाधान गर्दै जानुपर्ने बताए ।

चुनावी कार्यक्रमहरू के कसरी ? सञ्चालन भइरहेका छन् भन्नेबारे पनि उम्मेदवारहरूबाट सभापति बानियाँले जानकारी लिएका छन् ।

कांग्रेसले प्रदेशबाट पठाएको चुनावी सामग्रीहरू सबै क्षेत्रमा पुगे नपुगेको बारेमा पनि सभापति बानियाँले चासो राखेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन संविधान र लोकतन्त्र रक्षाका लागि आजको अनिवार्य आवश्यकता भएको भन्दै सभापति बानियाँले सत्तागठबन्धनभित्रका दलहरूका उम्मेदवारलाई जिताउन सबै पार्टीका नेता कार्यकर्तालाई उत्प्रेरित गर्नसमेत उम्मेदवारहरूलाई निर्देशन दिए ।

सभापति बानियाँले ग्रामीण क्षेत्रका मतदाताहरू नेपाली कांग्रेस र सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आतुर रहेको पनि दाबी गरेका छन् ।

उनले भने, ‘सत्तागठबन्धनको पक्षमा जनता देखिएका छन् । बागमती प्रदेशमा मात्र होइन, देशभरि नेपाली कांग्रेस र सत्तागठबन्धनको पक्षमा लहर आएको छ । हाम्रा प्रतिस्पर्धी केही दलहरू आत्तिएका छन् । उनीहरूको बरबराहटप्रति ध्यान दिने होइन । विकास, लोकतन्त्र र संविधानको रक्षामा हामी केन्द्रित हुने हो ।’

सभापति बानियाँले चुनावको मुखमा विभिन्न खालका नचाहिने र पराजित भएको मानसिकताबाट ग्रसित विषय आउन सक्नेभन्दै त्यसलाई ध्यान नदिन आग्रह गरेका छन् ।

Published : Saturday, 2022 November 5, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया