दुईतिहाई बहुमत हुँदा पनि सरकार चलाउन नसकेका ओलीका कर्तुतहरू कांग्रेस प्रवक्ता डा.महतले खोले

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस धेरै नबोली काम गर्ने पार्टी भएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस खेलकुद क्षेत्र लुम्बिनी प्रदेशस्तरीय समन्वय प्रचार–प्रसार उप–समितिको कार्यक्रममा डा.महतले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले काम केही नगरी गफमात्रै गर्ने गरेको बताएका छन् ।

‘माओवादी र माधव नेपालसहित दुईतिहाई नजिक बहुमत गत निर्वाचनमा उहाँले पाउनुभएको थियो’, डा.महतले भने, ‘ओलीजीले ठूलाठूला कुरा गर्नुभयो । हसाउनु पनि भयो उखान टुक्का हालेर ।’

उनले भने, ‘कांग्रेस नेतृत्व बोल्दैन काम गर्छ ।’ साढे तीन वर्षसम्म ओलीले कुरामात्रै गरेको आरोप लगाएका छन् ।

कांग्रेसका प्रवक्ता डा.महतले ओलीको दम्भकै कारणले पहिलेको अवस्था आएको बताएका छन् ।

‘काठमाडौंमा दुई वर्षमा रेल ल्याउँछु । पानी जहाज ल्याउँछु भनेर कार्यालयको उद्घाटन गर्नुभयो’, उनले भने, ‘कहाँबाट ल्याउने हो ? घरघरमा ग्यास ल्याउँछु भन्नुभयो । देउवाजी ५ मिनेटभन्दा बोल्नुहुन्न । आमसभामा त ३ मिनेटमात्रै बोल्नुहुन्छ । तर, उहाँ काम भटाभट गर्नुहुन्छ ।’

कांग्रेसले बहुमत ल्याएर पाँच वर्ष देशको नेतृत्व गर्ने उनको भनाइ छ । ओलीले राष्ट्रवादको झूटो कुरा गरेर जनतालाई झुक्काएको डा.महतले बताएका छन् ।

‘राष्ट्रवादको विषयमा उहाँले ठूलो कुरा गर्नुहुन्छ । सम्बन्धित बोल्नुपर्ने ठाउँमा वार्तामा चुइँक्क बोल्नुहुन्न’, उनले भने, ‘आमसभामा भने ठूला कुरा गर्नुहुन्छ । हामीले त राख्नुपर्ने ठाउँमा कुरा राखेका छौँ नि । अहिले दार्चुलातिर जानुभएको छ ।’

डा.महतले ओली नेतृत्वको सरकारको पालामा भएको काण्डैकाण्डै आफूहरूले रोकेको बताएका छन् । कांग्रेस नेतृत्वमा स्थिर सरकार बनेपछि देशमा समृद्धि आउने उनले बताएका छन् ।

उनले गठबन्धन दलहरूले कांग्रेसले भनेका धेरै कुरालाई स्वीकार गर्ने बनाइसकेको समेत बताएका छन् ।

प्रवक्ता डा.महतले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई निसंकोच मतदान गर्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

अहिलेको निर्वाचन प्रतिगमनविरुद्ध केन्द्रित रहेको बताउँदै प्रवक्ता डा.महतले कुनै संकोच नमानेर सत्तागठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘नेपाली जनताले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी छ’, उनले भनेका छन् ।

‘असन्तुष्टिलाई बिर्सेर सत्तागठबन्धन दलका उम्मेदवारको पक्षमा मतदान गर्ने दायित्व आमकांग्रेस नेता, कार्यकर्ताको हो’, उनले भनेका छन् ।

खेलकुद उप–समितिका संयोजक कर्माछिरिङ शर्पाले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरे । उनले खेलकुदका क्षेत्रबाट प्रचार प्रसारमा लाग्न पनि आग्रह गरेका छन् ।

Published : Friday, 2022 November 4, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया