देउवाको शानदार वापसी, ओलीलाई दिए एक-एक जवाफ, हजारौंले गरे भव्य स्वागत

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक व्यवस्था र राष्ट्रिय आवश्यकताका आधारमा सत्तारूढ दलबीच गठबन्धन भएकाले जनताद्वारा अनुमोदन हुने बताएका छन् ।

बिहीबार डडेल्धुरामा सत्तागठबन्धन दलद्वारा आयोजित संयुक्त चुनावी सभामा उनले संविधान निर्माण र लोकतन्त्र प्राप्तिका लागि लडेका दलहरूबीच सहकार्यको संस्कार अभिवृद्धि गरी देशको आर्थिक रूपान्तरण र समुन्नतिको दिशामा अघि बढाउने बताए ।

उनले सत्तारूढ र अन्य दलको गठबन्धन १०–१५ वर्षसम्म कायम रहने बताए । यसरी जाँदा देशमा स्थिरता र समृद्धि आउने देउवाको भनाइ छ ।

उनले विचार अलग भए पनि सबैको विचारलाई सम्मान र स्वीकार गर्दै मिलेर जानुपर्ने अवस्थाको विकल्प नरहेको बताएका छन् ।

देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि फरक–फरक विचार भएका राजनीतिक दलहरू एकै ठाउँमा उभिएको बताए ।

अत्यन्त ठूलो लडाइँबाट प्राप्त गरेको संविधान बचाउनु गठबन्धनको सफलताका रूपमा आफूले लिएको उनले बताएका छन् ।

‘पाँच वर्षे कार्यकाल पाएको संसद् दुई–दुई पटक भङ्ग हुँदा निम्तिएको अस्थिरता अन्त्य गर्न र संसदको स्थिरताका लागि पनि गठबन्धन निर्माण गरिएको हो’, प्रधानमन्त्री एवम् सभापति देउवाले भनेका छन् ।

तुलनात्मक रूपमा धेरै देशको भन्दा राम्रो रहेको नेपालको संविधान नै तोड्न खोजेपछि बाध्य भएर आफूहरूले एक भएर संविधान, लोकतन्त्र र संघीयता बचाएको स्पष्ट पार्दै उनले केही वर्षसम्मसँगै काम गर्ने, सँगै जाने संस्कृति र पद्धतिको विकास गर्ने दिशातर्फ आफूहरू लागेको बताएका छन् ।

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि सबै नागरिकको अधिकार संविधानमै व्यवस्था गरिएको बताएका छन् ।
प्राप्त अधिकारलाई जोगाउने र सुदृढीकरण गरेर जाने उनले बताए ।

‘आदिवासी, जनजाति, महिला, मधेशी, दलित सबैको देश हो यो’, उनले भने, ‘सबैलाई ठाउँ दिनुपर्छ । सबैलाई हक दिनुपर्छ ।

सबैलाई समावेश गरेर हाम्रो राष्ट्र समावेशी र लोकतान्त्रिक बनाएको खण्डमा यो देशमा मेलमिलाप स्थापित हुन्छ ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारमार्फत यस क्षेत्रको विकास गर्ने बताएका छन् ।

उनले धनगढीदेखि डडेल्धुरासम्म चार लेन सडक निर्माण गर्न सके अझै सहज हुने बताउँदै त्यसका लागि काम भइरहेको जानकारी दिएका छन् ।

जोडबुढा, चिर्किटे र डडेल्धुरा जोड्ने सडकलाई कालोपत्रे गर्ने, सबै गाउँमा बाटो पुर्‍याउने र सबै नागरिकका घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

घटालबाबाको मन्दिर, उग्रतारा भगवतीको मन्दिर आदि क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा मेडिकल कलेज स्थापना गर्ने कार्य सुरु भएको उनले बताए ।

अजयमेरु गाउँपालिका–१ स्थित पुइलेकमा विमानस्थल निर्माण, पश्चिम सेती र एसएसआर (तल्लो सानो सेती) जलविद्युत् आयोजना निर्माण गरी सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिकोपार्जनको आधार तयार गर्ने बताउनुहुँदै उनले महाकाली नदीमा पुल निर्माण गर्ने सन्दर्भमा भारतसँग कुरा भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताएका छन् । उनले नेपालको हकका लागि लड्ने उल्लेख गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्याबारे भारतसँग र हुम्लाको सीमा विवादबारे चीनसँग कूटनीतिक वार्ता गर्ने उनले बताएका छन् ।

देउवाले भने, ‘दुवै छिमेकीसँग वार्ता र कूटनीतिक पहल गरेर हाम्रो देशमा उत्पन्न समस्या समाधान गर्नुपर्छ, यसमा सरकारले प्रयास गर्नेछ ।’

कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले सत्ता साझेदार दलहरूबीच सत्यका पक्षमा लड्न गठबन्धन बनेको बताइन् ।

राणाले भनेकी छिन्, ‘डडेल्धुरा जिल्लाले हरेक पटक सुनको कसीमा सुन नै भेट्टाएको जस्तो गरेर छ पटकसम्म शेरबहादुर देउवाजीलाई जिताएर पठाउनुभयो । हरेक पटक केही न केही उपलब्धि देशले ग¥यो, जिल्लाले पनि गर्‍यो ।’

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले अहँकार र निरंकुशतावादी सोंच निर्वाचनबाट पराजित हुने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, एकीकृत समाजवादीका नेत्री नीरादेवी जैरु, जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, राष्ट्रिय सभा सदस्य जगत पार्की, प्रदेश सभा (२) का उम्मेदवार गोविन्दराज बोहराले सत्तारूढ गठबन्धनका पक्षमा मतदान गर्न अपील गरेका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई गृहजिल्ला डडेल्धुरामा मतदाताहरूले भव्य स्वागत गरेका छन् । देउवाविरुद्ध एउटा तत्वले छन्नभाँती प्रचार गरेका बेला डडेल्धुराका मतदाताले स्वागत गरेर सत्तागठबन्धनको पक्षमा प्रतिवद्धता जनाएका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई देउवाले एक–एक जवाफ दिएर नङ्ग्याइदिएका छन् ।

Published : Friday, 2022 November 4, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया