एमालेको चुनाव चिन्ह ‘सूर्य’ १० करोडमा बिक्री, ओलीले कसलाई बेचे ?
राक्सिराङ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपियाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई चुनाव चिन्ह ‘सूर्य’ बेचेको आरोप लगाएका छन् ।
बिहीबार सत्तागठबन्धनले मकवानपुर–२ को राक्सिराङको सरिखेत पलाँसेमा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेलामा खतिवडाले ओलीले राजावादी र विखण्डनकारीहरूसँग हातेमालो गरेर गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताए ।
ओलीले १० करोड लिएर चुनाव चिन्ह ‘सूर्य’ राप्रपाका अध्यक्ष कमल थापालाई बेचेको एकीकृत समाजवादीका नेता खतिवडाको भनाइ छ ।
एकीकृत समाजवादीका नेता खतिवडाले सत्तागठबन्धनको तर्फबाट मकवानपुर–२ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ ‘१’मा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान र ‘२’मा बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।
खतिवडाले मकवानपुरमा सत्तागठबन्धन बलियो अवस्थामा रहेको भन्दै सबै उम्मेदवारहरू विजयी हुने बताए ।
सत्तागठबन्धन बलियो आधारका साथ अग्रता कायम गरिरहँदा एमालेका उम्मेदवारहरू प्रतिस्पर्धामा आउनै नसक्ने खतिवडाले बताएका छन् ।
खतिवडाले भने, ‘यहाँको विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’
खतिवडाले अब बन्ने सत्तागठबन्धनको सरकारले गाँजा विधेयक पारित गर्ने बताएका छन् । उनले गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने बताएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘२’का उम्मेदवार एवम् बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए ।
उनले डमरु बजाउँदै औषधि बेच्ने हालतमा एमाले पुगेको बताएका छन् । पश्चिम मकवानपुरको विकासमा एमालेको कुनै योगदान नभएको सभापति बानियाँले बताएका छन् ।
प्रदेश सभा ‘१’कि उम्मेदवार कुमारी मोक्तानले पछिल्लो पटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताइन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतले निर्वाचन क्षेत्र नम्बर २ को विकासमा सधैँ बाधक बनेको एमालेले भोट माग्न पनि लजाउनु पर्ने टिप्पणी गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया