सत्तागठबन्धनका दीपक-रेखा-मेटमणिको माहोल बढ्यो, दाङमा रेकर्ड बनाउने तयारी

काठमाडौं । दाङमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले क्लिन स्वीप गर्ने गरेर आफूलाई तयारी अवस्थामा राखेको छ ।
दाङमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।

कांग्रेसबाट केन्द्रीय सदस्य दीपक गिरीले दाङ– ३ मा उम्मेदवारी दिएका छन् । गिरी त्यो क्षेत्रमा लोकप्रिय मानिन्छन् । पूर्वमन्त्री समेत रहेका गिरीले आफ्नो क्षेत्रमा विकासका कार्यक्रम उल्लेख्य रुपमा गरेका छन् ।

कांग्रेसका नेता, कार्यकर्ता तथा मतदाताहरूले गिरीको योगदानलाई स्मरण गरेर यस पटक विजयी गराउनुपर्ने टिप्पणी हुने गरेका छन् ।

गएको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट एमालेले जितेको थियो । एमालेले सिन्को पनि भाँच्न सकेन । झण्डै दुईतिहाईको बहुमत हुँदा पनि सरकार चलाउन नसकेको एमालेलाई यस पटक सबक सिकाउने पक्षमा दाङ–३ का मतदाताहरू छन् ।
प्रदेश सभातर्फ दाङ–३ ‘१’मा कांग्रेसका डिल्लीबहादुर चौधरी उम्मेदवार छन् । दाङ–३ ‘२’मा माओवादी केन्द्रका धनबहादुर मास्की उम्मेदवार बनेका छन् ।

दाङ–२ मा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मा उम्मेदवार बनेकी छिन् । पूर्वमन्त्री समेत रहेकी शर्मा सबैसँग मिलनसार रुपमा बोल्ने गर्छिन् । सबैसँग सरल र सहज व्यवहार गर्न रुचाउने नेतृ शर्मा बलियो उम्मेदवार हुन् । उनी दाङ–२ बाट जितेर गइन् भने मन्त्री बन्ने लगभग पक्का छ ।

प्रदेश सभातर्फ दाङ–२ ‘१’मा लुम्बिनी कांग्रेसका उप–सभापति राजु खनाल उम्मेदवार बनेका छन् । विशेष गरेर युवाहरूका बीच लोकप्रिय मानिने खनालको पनि जित पक्का जस्तै रहेको टिप्पणी हुने गरेको छ । खनालका प्रतिद्वन्द्वी निकै कमजोर विवादित व्यक्ति भएका कारण पनि मतदाताको रोजाइमा कांग्रेस पर्ने पक्का छ ।

प्रदेश सभातर्फ दाङ–२ ‘२’मा लुम्बिनी कांग्रेसका कार्यसमिति सदस्य प्रचण्डबिक्रम न्यौपाने उम्मेदवार छन् । न्यौपानेले पनि जित्ने लगभग पक्का जस्तैछ ।

दाङ–१ मा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरी उम्मेदवार बनेका छन् । चौधरीले जित्ने सम्भावना पनि निकै उच्च छ । स्थानीय तहको निर्वाचनको मत संख्या हेर्ने हो भने एकीकृत समाजवादी निकै कमजोर छ । तर, कांग्रेस, माओवादी र जनमोर्चाले चौधरीलाई जसरी पनि जिताउने योजनामा छन् । चौधरी अहिले पनि शहरी विकासमन्त्री छन् ।

प्रदेश सभातर्फ दाङ–१ ‘१’मा माओवादीका ईन्द्रजित चौधरी उम्मेदवार छन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री समेत रहेका ईन्द्रजितको पनि ठीकै अवस्था रहेको छ । मन्त्री भएर पनि सिन्को भाँच्न नसकेको आरोप खेप्दै आएका ईन्द्रजितलाई जित्नका लागि कांग्रेसको भोटको आशा छ ।

प्रदेश सभातर्फ दाङ–१ ‘२’मा कांग्रेसका अनुराग खड्का उम्मेदवार छन् । स्व.खुमबहादुर खड्काका छोरा अनुरागले जुनियर हुँदाहुँदै आफूभन्दा सिनियर नेताहरूको टिकट खोसेर उम्मेदवार बनेका छन् । अनुरागले पनि जित्ने सम्भावना छ ।

विगतमा कम्युनिस्टहरूले जितेका बेला देशभरिबाट झण्डै दुईतिहाई बहुमत पाएका थिए । त्यस बेला कम्युनिस्टले सरकार चलाउन नसकेर बीचमा नै कांग्रेसलाई सत्ता सुम्पिएका थिए । मतदाताले सरकार चलाउनै नसक्ने कम्युनिस्टलाई मतदान गर्छन् वा देश हाँक्न सक्ने कांग्रेसलाई मतदान गर्छन् मंसिर–४ गते थाहा हुनेछ ।

Published : Tuesday, 2022 October 18, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया