निर्वाचनमा केन्द्रित हुन प्रहरीलाई प्रधानमन्त्री देउवाको निर्देशन, प्रहरीको कामको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको निर्वाचन शान्तिपूर्ण, निपक्ष बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमबार ६७औं प्रहरी दिवस २०७९ को अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै देउवाले चुनाव केन्द्रित हुन आग्रह गरे । सीमित स्रोत साधनका बीच प्रहरीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

उनले नेपाल प्रहरीले सरकार र जनताबीच नजिकको साथीका रुपमा भूमिका खेलेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले भने, ‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ ।’

उनले शान्ति सुरक्षा विकास निर्माणका लागि अपरिहार्य तत्व भएको बताउँदै भने, ‘यसमा प्रहरीले आफूलाई अब्बल साबित गराएको छ ।’ जुनसुकै बेला आपतविपद् पर्दा जनताले सुरुमा प्रहरीलाई सम्झिने बताउँदै उनले यसलाई सबल र सुदृढ बनाउँदै जाने बताए ।

सुरक्षा र न्यायप्रति जनतालाई अनुभूति दिलाउने सन्दर्भमा प्रहरीले सबैको आशा, विश्वास र भरोसाको केन्द्र भएको बताउदै देउवाले प्रहरीले आफ्नो कार्यसम्पादनबाट देशभित्र नभइ, बाहिर पनि प्रशंसा कमाएको बताए ।

उनले भने, ‘संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी भएर प्रहरीले गरेको काम प्रशंसनीय छ ।’

उनले प्रहरीको आधुनिकीकरण र सुदृढीकरणलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।

देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् ।

हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनलाई धन्यवाद समेत दिए ।

यसबीच, नेपाल प्रहरीले ६७औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोह आयोजना गरिएको छ ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।

सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी थिए ।

कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान समेत गरिएको छ ।

दिवंगत प्रहरीहरूको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरूले माल्यार्पण पनि गरेका छन् ।

नेपाल प्रहरीले ड्रोनमार्फत् प्रहरी दिवसको ब्यानर उडाएको थियो ।

पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । (तस्बिर अनलाईन खबरबाट)

Published : Monday, 2022 October 17, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया