ओलीका कारण उपेन्द्र यादवलाई घाटा, देउवाले पावर देखाइदिए

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम प्रधानमन्त्री सिफारिसमा उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

चार वटा मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेसँग मिल्न गएपछि देउवाले जसपाका मन्त्रीहरूलाई हटाइदिएका छन् ।

जसपाका यादव एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग मिल्न गएका बेला सधैँ घाटा लाग्ने गरेको छ ।

Published : Thursday, 2022 October 13, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया