विष्णु पौडेललाई जित्न सहज हुने गरी निर्णय गर्ने निर्वाचन अधिकृतको कालो कर्तुत खुल्यो

बुटवल । नेपाली कांग्रेससहितका दलहरूले रुपन्देही–२ मा नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको मनोनयन खारेज निर्णय सच्याउन निर्वाचन आयोगसँग माग गरेका छन् ।

सत्तागठबन्धनका उम्मेदवार गुरुङविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेदवारी खारेज गरेको भन्दै दलका नेताहरूले राजनीतिक पूर्वाग्रह राखिएको आरोप लगाएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरूले ज्ञापनपत्र बुझाउँदै निर्वाचन अधिकृतको भूमिकामाथि प्रश्न उठाएका छन् ।

उनीहरूले निर्वाचन अधिकृतलाई हटाउन माग गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष चीनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त रुपमा निवेदन दिँदै राजु गुरुङको उम्मेदवारी खारेजको निर्णय सच्याउन माग गरेका हुन् ।

उनीहरूले निर्वाचन अधिकृत उदवीर नेपालीको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् ।

‘तपाईं राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएको हुँदा तपाईले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा हामी दलहरू विश्वस्त छैनौं’, ज्ञापनपत्रमा भनिएको छ ।

अध्यक्ष तिमिल्सिना एमालेका नेता हुन् । उनकै सचिवालयबाट आएका नेपालीको गतिविधि गतिलो देखिएको छैन ।

दलहरूले निर्णय र कार्यतालिका नसच्याए दुर्घटना हुनसक्ने चेतावनी समेत दिएका छन् ।

ज्ञापनपत्रमा गुरुङको मुद्धा अदालतमा विचाराधीन रहेको समेत उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले बैंकिङ कालोसूचीमा रहेको भन्दै मंगलबार गुरुङसहित हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज गरेको सूचना निकालेको थियो ।

आयोगको सो निर्णयले एमालेबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका विष्णु पौडेललाई निर्वाचन जित्न सहज भएको छ ।

Published : Wednesday, 2022 October 12, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया