गगनको चुरीफुरी काटेर विश्वलाई अधिकार, कांग्रेसले प्रत्यक्षतर्फको टिकट बाँड्ने मापदण्ड बनायो
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारहरुका विषयमा छलफल शुरु गरेको छ ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरुका बारेमा मापदण्ड बनाएर उम्मेदवार छनौट प्रक्रिया अगाडि बढाएको हो । महामन्त्री विश्वप्रकाश शर्माद्धारा पेश गरिएको प्रस्तावहरुलाई कार्यसम्पादन समितिले सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरेको प्रवक्ता डा.महतले बताएका छन् ।
‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने निर्णय गरेको प्रवक्ता डा.महतले बताएका छन् ।
‘स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भनेको छ, ‘आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन व्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय यो बैठक गर्दछ ।’
निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुने निर्णय पनि कांग्रेसले गरेको छ ।
असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाए पश्चात् बसेको बैठक प्रतिनिधि सभा एवं प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक असोज २० गते बिहान ९ बजे बस्नेछ ।
यसैबीच, कांग्रेसले विजया दशमी लगायत घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुभकामना व्यक्त गरेको छ ।
कार्यसम्पादन समितिको बैठकमा महामन्त्री शर्माले प्रस्तावहरु पेश गरेका छन् । अर्का महामन्त्री गगनकुमार थापाले प्रस्ताव पेश गर्न पाएनन् ।
निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारहरुको प्रारम्भीक सूची महामन्त्री थापाले नै बाहिर सार्वजनिक गरेर बबण्डर मच्चाएका थिए ।
नेता शेखर कोइरालासँग मिलेर महामन्त्री थापाले सभापति देउवा र पार्टी नेतृत्वविरुद्ध सडक आन्दोलन चलाएका थिए । कार्य सम्पादन समितिको सोमबारको बैठकमा सभापति देउवाले महामन्त्री थापालाई प्रस्ताव पेश गर्न नदिएर अर्का महामन्त्री शर्मालाई प्रस्ताव पेश गर्न लगाएका छन् ।
सभापति देउवाले धेरै चुरीफुरी गर्ने महामन्त्री थापाको घमण्ड तोड्ने प्रयास गरेका छन् । महामन्त्री थापाको घमण्ड तोडिएको छ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया