कांग्रेस नेता पूर्ण गुरुङद्वारा ओलीसँग भेट, तनहुँमा खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्ण गुरुङले एमाले अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेका छन् ।
बुधवार बालकोटमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले ओली र गुरुङलाई भेट गराएका हुन् ।
नेता गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मुखमा ओलीसँग भेट गरेका हुन् ।
ओलीले गुरुङलाई बोलाएर तनहुँ– १ बाट चुनाव लड्न आग्रह गरेको गुरुङ निकटका एक नेताले जनाएका छन् ।
ओलीले पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई स्थानीय तहको निर्वाचनमा सहयोग गरेका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ओलीले गुरुङलाई समर्थन गर्ने संकेत दिएका छन् ।
गुरुङलाई यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसले समानुपातिकमा राखेको थियो ।
एमालेका अध्यक्ष ओलीसँग भावी टिकट वितरण र चुनावी सहकार्यबारे कुराकानी भएको गुरुङले बताएका छन् ।
तनहुँ–१ मा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने जनाएका छन् ।
एमालेले गुरुङलाई टिकट दियो भने निर्वाचनमा उम्मेदवार बन्ने पक्का छ ।
गुरुङ यसअघि पौडेलसँग बागी बनेर चुनाव लडेका थिए । पौडेललाई हराउन पूर्वमन्त्री जोशीले गुरुङलाई साथ दिन सक्ने जनाइएको छ ।
ओलीलाई भेटेर टिकटको कुरा गरेका नेता गुरुङ कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी निकट मानिन्छन् । भण्डारीले उनलाई निकै विश्वास गर्ने चर्चा तनहुँ कांग्रेसभित्र छ ।
तनहुँमा ओलीले नजर घुमाइरहेका छन् । बिहीबार मात्रै ओलीले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई एमालेमा प्रवेश गराएका छन् ।
खनाल पनि तनहुँबाट चुनावमा प्रतिस्पर्धा गर्ने चर्चा छ । पूर्वआईजीपी खनाललाई महेश बस्नेतसँग मिलेर सांसद अपहरण गरेको आरोप लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया