सरकारद्वारा सुशील कोइरालाको योगदानको कदर, देउवाले दिए सबैलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् ।

सोमवार सैनिक मञ्च टुँडिखेलमा ८औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड–१९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

देउवाले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् ।

‘अबको हाम्रो गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण हो’, उनले भने, ‘सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार गर्नु नै हो ।’

‘सरकारले स्वास्थ्य पूर्वाधारको बिस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास भइरहेको छ’, उनले भने, ‘हामीले सबै समन्वयात्मक प्रयासबाट कोभिड र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास लिएको छु ।’

देउवाले भने, ‘निर्वाचन लोकतन्त्रको अधारशीला हो । आगामी मंसिर महिनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गइरहेका छौँ ।’

‘यसले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्नेछ भने अर्कोतिर संविधानलाई चलायमान बनाउन सहयोग पुग्नेछ’, उनले भने, ‘अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री देउवाले भने, ‘यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु ।’

‘सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, सम्पन्नता, समृद्धि र एकता नै अबको हाम्रो एकमात्र लक्ष्य हो’, देउवाले भनेका छन् ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एवं नागरिकहरूलाई आग्रह गरेका छन् ।

उनले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामूलक समाजको निर्माण गर्न सक्नुपर्ने बताए ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो ।

उता, गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएको छ ।

यस्तै राष्ट्र गौरव स्व. जीवराज न्यौपाने आश्रित, तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई दिइने भएको छ।

सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् जगमान गुरूङलाई विभूषित गरिने भएको छ ।

सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ ।

राष्ट्रपतिले मानपदवी, अलङ्कार र पदक पाउनेको नाम घोषणा गरेको गृह मन्त्रालयले आजको गोरखापत्रमा जारी गरेको सूचनामा उल्लेख छ ।

विभिन्न पेशागत क्षेत्रमा रहेका व्यक्तिहरू गरी ९९८ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरिएको हो ।

Published : Monday, 2022 September 19, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया