घ्यू खान पल्केका यी नेताहरूलाई देउवाले घरको बाटो देखाइदिए

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको मापदण्ड तयार गरेको छ ।

बुधबार काठमाडौंमा बसेको कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठक स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका र समानुपातिक सांसदहरूलाई बाटो बन्द गरिदिएको छ ।

‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने’, मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन ।’

‘नेपाली कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ’, कांग्रेसले भनेको छ, ‘अतः यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन पाउने छैन ।’

‘तर, प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुन सक्नेछन्’, विज्ञप्तिमा उल्लेख छ ।

‘उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पु¥याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइनेछ’, कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिने’, विज्ञप्तिमा भनिएको छ ।

‘उम्मेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ’, कांग्रेसले भनेको छ ।

पहुँचका भरमा पटक पटक समानुपातिक सांसद बनेकाहरूलाई कांग्रेसले यस पटक घरको बाटो देखाइदिएको छ ।

सभापति शेरबहादुर देउवाले समानुापतिकतर्फ ‘घ्यू’ खान पल्केका नेताहरूको ढाड फुस्काइदिएका छन् ।

Published : Wednesday, 2022 September 14, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया