कृष्ण, योगेन्द्रसँगै खुमबहादुरका छोरा टिकट सिफारिसमा परे

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ ।

बिहीवार बसेको बैठकले प्रत्यक्षतर्फ ४ र समानुपातिकमा ७ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।

प्रत्यक्षतर्फ कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदीप थापा र अनुराग खड्काको नाम सिफारिस भएको छ ।

अनुराग खड्का स्व.खुमबहादुर खड्काका छोरा हुन् । उनी सक्रिय राजनीतिमा भरखरै आएका हुन् । कृष्णकिशोर घिमिरे र योगेन्द्र चौधरी दुबै जना केन्द्रीय सदस्य र पूर्वसांसद हुन् । उनीहरु सिनियर नेताहरु हुन् ।

समानुपातिकतर्फ सुशील चौधरी, आत्माराम भट्टराई, खड्कबहादुर सुनार, द्रोण भुषाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिस भएको छ ।

स्व.खुमबहादुर खड्काकी पत्नी शिला खड्का यस पटक उम्मेदवारको सिफारिसमा परेकी छैनिन् । केन्द्रीय सदस्य समेत रहेकी शिलाले छोरा अनुरागलाई अगाडि बढाएकी छिन् ।

Published : Friday, 2022 September 2, 8:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया