भण्डारीको राष्ट्रपति फुत्किने बेला राजीनामाको धम्की, देउवाद्वारा कांग्रेसका नेतासँग सल्लाह

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भइरहेका राजनीतिक गतिविधिप्रति गम्भीर रुपमा ध्यान दिइरहेका छन् ।

नागरिकता विधेयकलाई लिएर भण्डारीले एमालेको कार्यकर्ता बनेर अगाडि बढेपछि आलोचना भइरहेका बेला देउवाले सर्तकतापूर्वक सो विषयलाई हेरिरहेका छन् ।

देउवाले मंगलबार र बुधबार कांग्रेसका नेताहरूलाई बालुवाटारमा बोलाएर भण्डारीको गतिविधि र नागरिकता विधेयकलाई लिएर राजीनामा दिन सक्ने विषयमा परामर्श गरेका छन् ।

भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिएपछि हुने भावी राजनीतिक कदमका बारेमा कांग्रेसका नेताहरूसँग देउवाले छलफल गरेका छन् ।

ओली प्रधानमन्त्री रहेका बेला भण्डारीले नागरिकता विधेयकलाई अध्यादेशमार्फत तत्काल जारी गरेकी थिइन् ।

एमालेले अध्यादेशबाट तत्कालीन समयमा जारी गरेको सोही विधेयकलाई कांग्रेस नेतृत्वको सरकारले संसदबाट पारित गरेर जारी गर्न पठाउँदा भण्डारीले फिर्ता पठाएकी थिइन् ।

सोही विधेयकलाई बहाना बनाएर भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिने धम्की दिएकी छिन् । उनले आफ्ना पूर्व सुरक्षा सल्लाहकार र सहयोगीहरूसँग पनि परामर्श गरेकी छिन् ।

देउवाले नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापासँग राष्ट्रपति पदबाट भण्डारीले राजीनामा दिएर राजनीति गर्न लागेको बारेमा छलफल गरेका हुन् ।

नेता पौडेलले भण्डारीलाई राजनीति गरेर पुगेको छैन भन्ने त आफूलाई पहिला नै थाहा भएको बताएका छन् ।

‘एमालेमा केपी ओलीपछिको नेता चाहिएको छ’, पौडेलले कांग्रेस नेताहरूको बैठकमा भनेको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘बेला यही हो भन्ने उहाँहरूले ठाने जस्तो छ ।’

राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे देउवा केही तनावमा देखिन्थे ।

राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको बेला एमालेको उक्साहटमा हुन लागेको राजीनामा प्रकरणले चुनावमा कांग्रेसलाई असर पर्ने हो कि ? भन्नेमा देउवा सशंकित देखिएका छन् ।

भण्डारी र एमालेले नागरिकता विधेयकलाई राजनीतिक औजार बनाएर जाँदा गम्भीर अवस्था आउनेमा प्रधानमन्त्री देउवा चिन्तित बनेको स्रोतको भनाइ छ ।

नेता पौडेलले प्रधानमन्त्री देउवाबाट आफूले राष्ट्रपति भण्डारीको राजीनामा सम्भावनाबारे कुरा सुनेको पत्रकारहरूलाई बताएका छन् ।

राजीनामालाई भण्डारी र एमालेले चुनावी मसला बनाउन खोजेको जस्तो आफूलाई लागेको नेता पौडेलले बताएका छन् । राष्ट्रपतिबाट राजीनामाको परिस्थिति आएमा त्यो संविधानसम्मत नभई राजनीतिक निर्णय हुनेछ ।

बुधबार शीतलनिवासमा भण्डारीले सुरक्षा अधिकृतहरूको आकस्मिक बैठक राखेकी छिन् । भण्डारीको सुरक्षामा खटिएका पूर्वअधिकारीको पनि उपस्थिति रहेको थियो ।

एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले नागरिकता विधेयकलाई बहाना बनाएर ४÷५ महिनापछि फुत्किन लागेको राष्ट्रपति पदलाई मोहरा बनाएर राजनीति गर्न खोजेकी छिन् ।

भण्डारीले राष्ट्रपतिको सेवा सुविधा नलिएर एमालेको अध्यक्ष बनेर राजनीति गर्न लागेको चर्चा पनि हुने गरेका छन् ।

Published : Wednesday, 2022 August 24, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया