‘म्यादी’ मन्त्री र महानिर्देशकले चुनाव खर्चको व्यवस्था गरेरै छाडे, १० देखि १५ करोड शुरुको कमिशन
काठमाडौं । निर्वाचन घोषणा भइसकेको अवस्था र मुलुकमा आर्थिक समस्या पर्ने चर्चा चलिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वटा विमानस्थलमा करीव ९ देखि १० अर्ब रुपियाँ खर्च गर्न लागेको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको मिलोमतोमा टेण्डर निकालिएको आरोप छ । उनीहरूले कमिशनको चक्कर र चुनाव खर्च उठाउन निर्वाचनको मुखमा ठूलो रकम खर्च गरेर टेण्डर आह्वान गरेको आरोप छ । ‘म्यादी’ मन्त्री आउनेवित्तिकै विमानस्थलको टर्मिनल भवन र अन्य संरचना बनाउनेभन्दै ठूलो रकम खर्च हुन थालेपछि आशंका उब्जिएको हो ।
राम्रो मनसायले टेण्डर निकालिएको भए पनि ‘म्यादी’ मन्त्री श्रेष्ठ र महानिर्देशक अधिकारीको मिलोमतोमा कमिशनको चक्करमा हतारहतार गरेर टेण्डर निकालेको चर्चा प्राधिकरणभित्र र मन्त्रालयमा छ ।
टेण्डर पर्नेले मन्त्री र महानिर्देशकलाई १ देखि १.५ प्रतिशत अर्थात १० देखि १५ करोड साईनिङ एमाउन्टको कमिशन दिने स्रोतको भनाइ छ । पछि प्रक्रियाअनुसार आउने कमिशन अर्को छुट्टै बाटो छ ।
साईनिङ एमाउन्टको कमिशन लिने परम्परा नै छ । यो कुरा ठेकेदार, मन्त्री, सचिव, महानिर्देशक र अधिकांश व्यक्तिलाई राम्रोसँग जानकारी छ ।
म्यादी मन्त्री अर्थात पर्यटनमन्त्री श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्राधिकरणले निकालेको ५ वटा टेण्डरका बारेमा कन्भिन्स गराएका छन् । अध्यक्ष नेपालले आफ्ना म्यादी मन्त्रीहरूलाई चुनाव खर्च जुटाउन निर्देशन दिएको चर्चा छ । सोही निर्देशनपछि म्यादी मन्त्री श्रेष्ठले महानिर्देशक अधिकारीसँग मिलेर टेण्डर निकाले छन् ।
प्राधिकरणका ईञ्जिनियर नलबिक्रम थापाले सार्वजनिक खरिद ऐनका आधारमा टेण्डर निकालिएको बताएका छन् ।
प्राधिकरणले विराटनगर विमानस्थलको टर्मिनल भवन बनाउन अनुमानित ३ अर्ब ५० करोड खर्च गर्न लागेको ईञ्जिनियर थापाले बताएका छन् ।
नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन बनाउन प्राधिकरणका करीव ३ अर्ब ५० करोड खर्च गर्न लागेको छ । डोल्पाको विमानस्थलको रनवे र अन्य कामका लागि करीव ८/९ करोड खर्च हुनेछ ।
प्राधिकरणले भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन १ अर्ब ८० करोड खर्च गर्न लागेको छ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अनुमानित ३ करोड प्राधिकरणले खर्च गर्न लागेको छ । नेपालगञ्ज तीन अर्ब ५० करोड प्राधिकरणले खर्च गर्न लागेको छ ।
प्राधिकरणले निकालेको टेण्डर पनि आफू निकटका ठेकेदारको कम्पनीलाई क्राइटएरिया मिल्ने (मिलोमतो र सेटिङ) गरेर बनाइएको चर्चा प्राधिकरणभित्र छ ।
पूर्वमन्त्रीद्वय प्रेमबहादुर आले र धनबहादुर बुढासहितका व्यक्तिले पनि प्राधिकरणको टेण्डरमा आँखा लगाएका छन् ।
धनबहादुर बुढाले टेण्डर पारेर अर्को ठेकेदारलाई बिक्री गरेर रकम कुम्ल्याउने गरेका छन् । लुम्बिनीमा पनि बुढाले सोही हर्कत गरेका छन् ।
प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्व राज्यमन्त्री एवम् प्रतिनिधि सभाका सांसद बुढाबीच राम्रो साँठगाँठ छ । यो मामिलामा पूर्वमन्त्री आले पनि दुई कदम अगाडि छन् ।
यसअघि, एकहप्ता पहिला रिपब्लिका दैनिक डटकमले मिलोमतो र राज्यलाई भार पर्ने गरेर प्राधिकरणले करीव १० अर्ब खर्च गर्न लागेको समाचार प्रकाशित गरेको थियो ।
सर्वोच्च अदालतकै भवन बनाउँदा भ्रष्टाचार, कमिशन लगायतका अनियमितता भएका समाचार आइरहेका बेला प्राधिकरणले दश अर्बको टेण्डर निकालेको छ ।
कम्युनिस्ट सांसद एवम् पूर्वराज्यमन्त्री धनबहादुर बुढाको कम्पनीलाई टेण्डर पर्यो भने अचम्म नमाने पनि हुन्छ । यो खेलमा बुढा ज्यान फालेर लागेका छन् ।

Comments are closed.
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया