कांग्रेसको सबै कार्यालयहरू बन्द रहने, स्व.गिरीप्रति यसरी दिइयो श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेसले समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गिरीको निधनप्रति दुःख व्यक्त गरेको हो ।

कांग्रेसले भनेको छ, ‘समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधिका सांसद, बहुआयामिक व्यक्तित्व प्रदीप गिरीको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते राति साढे ९ बजे भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ ।’

पिता मित्रलाल गिरी र माता पूण्यप्रभा गिरीको कोखबाट वि.सं. २००४ साल असोज २४ गते गोवर्धन पूजाका दिन सिरहा जिल्लाको वस्तिपुरमा जन्मिएका गिरी भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए ।

समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता रहेको कांग्रेसले जनाएको छ ।

‘राजनैतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दूमा राख्नु हुन्थ्यो’, कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभयो’, शोक वक्तव्यमा उल्लेख छ ।

‘नेपालमा राजनैतिक दलहरू प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहनुभयो’, कांग्रेसले भनेको छ ।

‘सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो’, विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो’, कांग्रेसले भनेको छ ।

‘महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ’, कांग्रेसले उल्लेख गरेको छ ।

नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद् घडीमा उनको आत्माको चीर शान्तिको कामनासहित कांग्रेसले श्रद्धाञ्जलि अर्पण गरेको छ ।

कांग्रेसले शोकाकुल परिवारजन एवं समस्त पार्टी सदस्यहरूमा समवेदना प्रकट गरेको छ ।

‘दिवंगत नेता प्रदीप गिरीप्रति उच्च सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्दछ’, कांग्रेसले भनेको छ ।

‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पण गर्न आज भदौ ५ गते बिहान साढे ११ देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरको प्राङ्गणमा राखिनेछ’, कांग्रेसले भनेको छ ।

‘तत्पश्चात पशुपति आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम रहेको छ’, कांग्रेसले भनेको छ ।

दिवंगत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलिका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

‘२०७९ भदौ ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरू बन्द गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

‘स्वर्गारोहणको १३ औं दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने’, वक्तव्यमा उल्लेख छ ।

‘स्वर्गारोहणको १३औं दिन (भदौ १६ गते)मा केन्द्र र सबै जिल्लाहरूमा शोक सभाको आयोजना गर्ने’, कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Sunday, 2022 August 21, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया