नेता गिरीको निधनपछि शोकमा कांग्रेस, शव पार्टी मुख्यालयमा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता प्रदीप गिरीलाई गुमाएको छ ।

समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद ७५ वर्षीय गिरीको शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनको निधनबाट कांग्रेस स्तब्ध र मर्माहत भएको जनाएको छ ।

स्व.गिरीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहि रहने विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ’, कांग्रेसले भनेको छ ।

गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भदौ ५ गते आइतबार देहाय बमोजिम समय र स्थानमा राखिने कार्यक्रम रहेको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा शब राखिनेछ ।

बिहान ११:३० देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर अन्तिम श्रद्धाञ्जलिका लागि शव राखिनेछ ।

गिरीको शव अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिनेछ ।

यसैबीच, गिरीको निधनप्रति कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो शोक व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष खड्गप्रसाद ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले पनि शोक व्यक्त गरेका छन् ।

Published : Sunday, 2022 August 21, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया