झुठ बोल्ने कम्युनिस्टलाई चुनावमा धुलो चटाउन कांग्रेसद्वारा रणनैतिक योजना सार्वजनिक, यस्ता छन् कुराहरू

काठमाडौं । नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु हुन लागेको र केही मापदण्ड बनाएर घोषणा गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले पहिलो चरण भदौ १० देखिदेखि शुरु हुने बताए । भदौ २४ गते वीपी जन्मजयन्तीका दिनसम्म पहिलो चरणको अभियान हुनेछ ।

दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने प्रवक्ता डा.महतले बताएका छन् ।

डा.महतले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने प्रमुख उद्देश्य रहेको जनाएका छन् ।

‘जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने’, उनले भने, ‘जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरूबारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने उद्देश्य रहेको छ ।’

उनले भने, ‘कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने उद्देश्य रहेको छ ।’

निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको प्रवक्ता डा.महतले बताएका छन् ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् । ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिहरूले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाउने प्रवक्ता डा.महतले बताएका छन् ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिको ७ जिम्मेवारी हुने जनाएको छ । अभियान शुरु हुनुभन्दा २ दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु हुनेछ । जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी केन्द्रबाट दिइएको मापदण्डका कार्यमा सरिक रहनुपर्नेछ ।

पन्ध्र दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरू कम्तिमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनु हुने प्रवक्ता डा.महतले बताएका छन् ।

जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनेछ ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिसहित त्यस क्षेत्रभित्रका महाधिवेशन, महासमिति, प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख, उप–प्रमुख र अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुखसहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरू भुलेर ऐक्यवद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्ने डा.महतले बताए ।

गठबन्धनमा रहेका दलहरूबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरि थप सहज बन्न–बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नेपर्ने मादण्ड तोकिएको छ ।

निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपुर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्नुपर्नेछ ।

अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रुपले कार्यान्वयन गर्न–गराउन जिल्ला समिति एवं मातहतका समितिहरूलाई सहजीकरण गराउनु पर्नेछ ।

‘पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोहि कसैबाट भएको थियो अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छनभने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने’, कांग्रेसका प्रवक्ता डा.महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन यो अभियानको अवधिमा व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने ७ जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको जनाएको छ ।

डा.महतका अनुसार अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सातवटै प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्रका सबै प्रदेश सभा क्षेत्रमा प्रतिनिधि खटाउनेछन् ।

प्रदेशबाट खटिने प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र जिल्ला सभापतिसँग समन्वय गरेर प्रदेशसभा भित्रका कार्यक्रमहरू प्रभावकारी र सफल बनाउन प्रदेश क्षेत्रीय सभापति र कार्यसमितिलाई सहजीकरण र सहयोग गर्नेछन् ।

प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नेछ ।

प्रदेश कार्यसमितिले आफ्नो प्रदेशको अनुकूलता र अपेक्षा अनुरुप अभियानका लागि थप कार्यक्रम तर्जुमा गर्न सक्नेछ ।

आफ्नो जिल्लाभित्र अभियानको समग्र समन्वय, अनुगमन र नेतृत्व जिल्ला कार्यसमितिले गर्नेछ ।

केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक सफल बनाउन जिल्ला कार्यसमितिले हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिती र पालिका समितीसंग आवश्यक समन्वय गर्नेछ ।

जिल्लाभरका सबै गाउँ–नगरपालिकामा जिल्लाको प्रतिनिधि खटाउनेछ । यसरी खटिएका प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसंग समन्वय गर्नेछन् र अभियान भरी तत्–तत् गाउँ–नगरपालिकामा क्रियाशील रहनेछन्, विभिन्न वडा एवं टोलका कार्यक्रम र अभियानमा सहभागी हुनेछन् ।

जिल्ला कार्यसमितिले अभियानलाई सफल बनाउन आफूअन्तर्गतका सबै तह एवं भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्नेछ ।

केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिसंग समन्वय र गाउँ–नगरसमितिसंगको सहकार्यमा क्षेत्रीय कार्यसमितिले अभियानको कार्ययोजना तयार गर्नेछ ।

आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित वडाभन्दा फरक–फरक वडामा प्रतिनिधि खटाइ परिचालन गर्नेछ । यसरी खटिएका प्रतिनिधिले गाउँ–नगर कार्यसमितिसंग समन्वय गरी वडा कार्यसमितिसंगको सहकार्यमा टोल–टोलको कार्यक्रम तय गर्नेछन् र अभियानभर वडाका अभियानमा क्रियाशील रहनेछन् ।

प्रदेश क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय समितिसँगको समन्वय र आफ्नो नेतृत्वमा आफ्नो प्रदेश क्षेत्रभित्रको अभियानलाई प्रभावकारी बनाउन समुहमा बाँडिएर भूमिका निर्वाह गर्नेछन् ।

केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुनेछ ।

क्षेत्रीय कार्यसमितिले खटाएको प्रतिनिधिसंगको समन्वयमा टोलसम्म अभियान प्रभावकारी बनाउन वडा कार्यसमितिसंग समन्वय गरी हरेक टोलमा प्रतिनिधि खटाउनेछ ।

अभियानकै क्रममा वडा टोलका कार्यक्रमका साथै पालिका कार्यसमितिले पालिका स्तरीय एउटा सार्वजनिक कार्यक्रमको संयोजन गर्नेछ ।

अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यममार्फत व्यापक प्रचार गर्नेछ । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्नेछ ।

अभियान केन्द्रीकृत नभई विकेन्द्रित गरिनेछ । भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिनेछन् । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कहिँ जिल्लास्तरीय रुपमा, कहिँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिनेछ ।

उद्घाटन समारोहमार्फत अभियानको उद्देश्यबारे सार्वजनिक प्रकाश गरिनेछ ।

हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा कार्यक्रम हुनेछ । गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिका स्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । मुलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।

टोल केन्द्रित अभियानको प्रारुपमा कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उप–सभापति, सचिव, कोषाध्यक्ष र सह–सचिवसहित वढीमा १५ जना रहने व्यवस्था गरेको छ ।

विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ । कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्नेछ ।

टोल कार्यसमितिभित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड यसबीचमा टुंगो गर्नु पर्नेछ ।

टोल कार्यसमितिको बैठक नियमित रुपले निश्चित समयमा बस्ने टुंगो गराई त्यसको शुरुवात गर्नुपर्नेछ । बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।

टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसंगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ ।

अभियानका क्रममा टोलभित्र टोल कार्यसमितिकै ब्यानरमा कम्तिमा एउटा राजनीतिक कार्यक्रम, कम्तिमा एउटा सामाजिक कार्यक्रम, कम्तिमा एउटा मतदाता संवाद (जसमा विशेषगरी नयाँ मतदाताका कुरा सुन्ने कार्यक्रम), एउटा विकास संवाद (विकास निर्माणका बारेमा छलफल गर्ने), एउटा युवा संवाद (युवा मुद्दाका विषयमा सुन्ने), एउटा महिला संवाद (महिला समूहहरूसंग महिलाका मुद्दाका वारेमा सुन्ने), एउटा दलित समुदाय संवाद (दलित समुदाय र सामाजिक मुद्दावारे छलफल गर्ने) र एउटा क्रियाशील सदस्यहरूसंग संवाद (पार्टीको सांगठनिक अबस्था विष्लेषण गर्ने) लगायतका कार्यक्रम गर्नुपर्नेछ ।

कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्’, नागरिक पंक्तिबाट सुझाव लिने । कार्यक्रममा आफै बोल्ने भन्दा पनि अन्तरक्रिया गर्ने र जनताका कुरा सुन्ने हुनुपर्नेछ । सकेसम्म जनताकै आगनमा छलफल गर्ने प्रबन्ध मिलाउनु पर्नेछ ।

अभियानका क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’देखि ‘उत्कृष्ट कार्यको सम्मान कार्यक्रम’ सम्म । समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्द्वकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्नुपर्नेछ ।

अभियानका दौरान टोलमा संचालन हुने विभिन्न सामाजिक काममा सक्रिय रहनुपर्नेछ । सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिनुपर्नेछ ।

टोलभित्रको घरधुरी संख्या, घर मुली र परिवारका सदस्य, पेसा व्यवसाय, नेपालभित्र विभिन्न जिल्ला र बाहिर रोजगारीको शिलशीलामा गएको भए सो को विवरण लगायत टोलको विस्तृत विवरण संकलन गर्नुपर्नेछ ।

बाहिर रहेका मतदातासंग सम्पर्क र समन्वय गर्न कार्यसमितिको एक जना सदस्यलाई जिम्मेवारी प्रदान गर्ने र आवश्यकता अनुसार सम्पर्क समन्वय गर्नुपर्नेछ ।

टोलभित्रका कांग्रेस सदस्यहरूको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अद्यावद्यिक विवरण राखी उनीहरूको घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी दिनुपर्नेछ ।

मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्नुपर्नेछ । राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलवासीलाई सु–सूचित गर्ने, भ्रम निवारण गर्नुपर्नेछ ।

टोल कार्यसमितिका सदस्यलाई निश्चित घर र मतदाता संख्या वाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःख सुःखमा सामेल हुने लगायतको जिम्मेवारी दिनुपर्नेछ ।

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको भूमिका विशेष रहनेछ । केन्द्रीय समिति कृयाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्नुपर्नेछ । कतिपय भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती संघअन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुनेछ ।

भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिनेछ ।

अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरूको भूमिका रहनेछ । सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्नेछ ।

पार्टीको जिल्ला समितिसँग समन्वय गरेर प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र एवं पालिका तहसम्मको सम्पर्क समिति अभियान क्रममा विस्तार गर्नेछ ।

राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिकबीच सम्पर्कमा पुग्नेछ । विवरण संकलन गर्नुपर्नेछ । अभियानमा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको जिम्मेवारी पनि तोकिएको छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरूलाई मातृभूमिमा हुन लागेको चुनावमा आ–आफ्नो क्षेत्रमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउनुपर्नेछ । सामाजिक सञ्जालमार्फत अभियानलाई बल पुर्‍याउनुपर्नेछ ।

अभियानको अनुगमन पनि हुने प्रवक्ता डा.महतले बताएका छन् । अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् । ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।

प्रथम चरणको समापन कार्यक्रम भदौ २४ गते वीपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरे बमोजिम केन्द्रिकृत रुपमा अथवा विभिन्न तहमा विकेन्द्रित ढंगले विभिन्न कार्यक्रमका साथ हुनेछ ।

Published : Saturday, 2022 August 20, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया