कांग्रेसले धुलो चटाएर हराएका बामदेव बर्दियाबाट भाग्ने, उनलाई यो जिल्ला पनि सुरक्षित छैन

काठमाडौं । बर्दिया जिल्लाबाट नेपाली कांग्रेससँग लज्जास्पद हार भएपछि झ्यालबाट राष्ट्रिय सभामा छिरेका बामदेव गौतमले प्यूठान जिल्ला ताकेका छन् ।

गौतम अब गृहजिल्ला बर्दियाबाट निर्वाचनमा प्रतिस्पर्धा नगर्ने तयारीमा पुगेका छन् । गौतमले मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय सभाबाट राजीनामा दिएर प्यूठान जिल्लाबाट उम्मेदवारी दिने योजनामा रहेको निकटका नेताहरूलाई भन्ने गरेको बुझिएको छ ।

गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह ‘हँसिया हथौंडा’बाट चुनाव लड्ने तयारी गरेका छन् । गौतमले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफूलाई चुनाव लड्न माओवादीको चुनाव चिन्ह ‘हँसिया हथौडा’ दिन आग्रह गरेका छन् । चुनाव चिन्हसँगै गौतमले निर्वाचन क्षेत्रबारे पनि माओवादी केन्द्रसँग प्रस्ताव गरेका छन् ।

२०७० को निर्वाचनमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट जितेका थिए । २०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनावमा भाग लिएका थिए । गौतमलाई नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग नराम्रोसँग हराइदिएका थिए ।

निर्वाचन अगाडिसम्म अन्य दलहरूभन्दा धेरै मतले अगाडि रहे पनि आफू अन्तरघातका कारण पराजित भएको गौतमले दाबी गर्दै एमालेको मुख्यालयमा उजुरी दिएका थिए ।

मंसिर ४ गतेको निर्वाचन पनि बर्दियाबाट उम्मेदवारी दिँदा फेरि कांग्रेससँग हार्ने डर छ । प्यूठानमा स्थानीय तहको निर्वाचनमा वडामा एमालेको मत ३९ हजार ८७७ छ ।

नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, राष्ट्रिय जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।

सत्ता गठबन्धनका दलहरुको मत जोड्दा एमालेको भन्दा बढी हुने भएपछि गौतमले प्यूठानमा आफू सुरक्षित हुने ठानेका छन् । एमाले छाडेर घरनघाटका भएका गौतमले नेकपा एकता राष्ट्रिय अभियान गठन गरेर अध्यक्ष बनेका छन् ।

प्यूठान जिल्लामा प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र छ । प्यूठानमा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट माग गरेको छ ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले गठबन्धनबाट टिकट पाउने पक्का छ । त्यो अवस्थामा गौतमको पराजय प्यूठानबाट हुने पक्का छ ।

गौतमले बर्दियामा एमालेका नेता सूर्य थापाले हराएको आरोप लगाएका थिए । प्यूठानमा गौतम आउने हो भने थापाले सहज रुपमा जित्न दिनेछैनन् ।

Published : Tuesday, 2022 August 16, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया