आले र अधिकारीबीच अहिले पनि साँठगाँठ, मन्त्रालयका गोप्य सूचना लिन थाले

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अहिले पनि मन्त्रालय, विभाग र विकास समितिहरूमा हस्तक्षेप गर्ने गरेको खुलेको छ ।

आलेले आफूले काम मिलाइदिएका ठेकेदार, सुरुवा गरेर ल्याएका उच्च तहका कर्मचारी र राजनीतिक नियुक्ति दिएका केही व्यक्तिहरूसँग अहिले पनि नियमित सम्पर्क गर्ने र हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका बारेमा जानकारी लिने गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

विशेष गरेर पूर्वमन्त्री आलेले नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमार्फत सूचना लिने गरेको चर्चा छ । आले र अधिकारबीच निकै घनिष्ट सम्बन्ध छ ।

विवादित छविका अधिकारी प्राधिकरणको महानिर्देशक बन्न ठूलो हर्कत गरेका थिए । सोही कारण उनको आलोचना हुँदै आएको छ ।

मन्त्रालयका एक कर्मचारीले भने, ‘पूर्वमन्त्री प्रेमबहादुर आले र प्रदीप अधिकारीबीच अहिले पनि बाक्लो उठबस छ । बेलाबेला उहाँहरूका बीच भेट हुन्छ । नयाँ मन्त्री, मन्त्रालय र प्राधिकरणसहित विभिन्न निकायका सूचनाहरू आलेले अधिकारीमार्फत लिने गरेको हामीले सुनेका छौँ ।’

महानिर्देशक अधिकारी र आले भैरहवा विमानस्थलमा टर्मिनल २ बनाउन खोजेका थिए । आले र अधिकारी मिलेर धनगढीको विमानस्थल बढाउने र जग्गा अधिग्रहण गर्ने बहानामा राज्यको ढुकुटी सिध्याउने षड्यन्त्रमा लागेका थिए ।

आले र अधिकारीको मिलोमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्यारालाल ट्याक्सी वे बढाउने काम भएको थियो । यो कामको टेण्डर भइसकेको छ । विमानस्थलभित्रको ह्याङ्गरको कामको पनि सहमति भएको छ ।

एडीबीको ऋण सहयोगमा अर्बौं खर्च गरेर काम हुँदैछन् । ती कामका बारेमा आलेले अधिकारीमार्फत जानकारी लिने गरेका छन् । आलेले मन्त्रीबाट जाँदा पनि किन अधिकारीमार्फत ती काममा चासो लिएका हुन् खुलेको छैन ।

Published : Friday, 2022 July 8, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया