देउवा नआएपछि खड्काले कमाण्ड सम्हाले, भ्रातृ र शुभेच्छुक संस्थाहरू मर्ज हुने

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका विषयमा छलफल गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकमा चुनावी रणनीति, भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

बैठक उप–सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । सभापति शेरबहादुर देउवा बैठकमा नआएपछि खड्काले बैठकको संयोजन गरेका हुन् ।

कांग्रेसले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनबारे निर्णय हुनेछ ।

‘भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवेदन आएको छ’, डा.महतले भने, ‘कसलाई मान्यता दिने ? कसलाई नदिने भन्नेबारे पनि छलफल भएको छ ।’

केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्ने कुरा भएको प्रवक्ता डा.महतले बताएका छन् ।

कांग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने तयारी भइरहेको छ ।

Published : Tuesday, 2022 July 5, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया