देउवाको कुराले खुसी हुँदै बाहिरिए बालेन, एमालेले सिर्जना गरेको समस्या समाधान हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाभित्रको फोहर व्यवस्थापनका लागि पहल थालेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नै निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा भएको प्रयास र प्रगतिका बारेमा जानकारी लिएका हुन् । देउवाले मेयर साहलाई फोहर उठाएर व्यवस्थापन गर्न सहयोग गर्ने आश्वासन दिएका छन् ।

फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहनेभन्दै प्रधानमन्त्री देउवाले नुवाकोटको बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्ने आश्वासन दिएको देउवाको प्रेस सल्लाहकार गोविन्द परियारले जनाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले काठमाडौंका मेयर साहबाट फोहर व्यवस्थापन गर्न नसक्ने भन्दै फोहर व्यवस्थापनका लागि प्रधानमन्त्री देउवाले नै पहल गर्नुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्री देउवा स्थानीय तहको अधिकारमा हस्तक्षेप नगर्ने पक्षमा थिए । तर, स्वतन्त्रबाट मेयरमा निर्वाचित साहले फोहर व्यवस्थापन गर्न नसक्ने भएपछि देउवाले सो विषयमा चासो देखाएका छन् ।

एमालेबाट तत्कालीन समयमा मेयर बनेका विद्यासुन्दर शाक्यले फागुनदेखि फोहर उठाउन सकेका थिएनन् । फोहर उठाउन नसकेरै मेयर शाक्यले पद गुमाउनु परेको थियो ।

एमालेले काठमाडौं महानगरपालिकाको फोहरमा ठूलो राजनीति गरेको थियो । एमालेले उठाउन नसकेको फोहरलाई प्रधानमन्त्री देउवा र मेयर साहले व्यवस्थापन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएपछि मेयर साह खुसी हुँदै बालुवाटारबाट निस्किएका छन् ।

Published : Thursday, 2022 June 9, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया