जसपाबाट को–को मन्त्री बन्न सक्छन् ? अन्यथा पार्टी विभाजनको खतरा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा अध्यक्ष उपेन्द्र यादवको निरंकुशताविरुद्ध विष्फोट हुने अवस्था भएको छ ।

आफू निकटका नेतालाई मात्रै यादवले काखी च्यापेपछि जसपाभित्र विवाद भएको हो । अध्यक्ष यादवले पार्टीको विवाद र असन्तुष्टिलाई मिलाउन प्रयासहरू गरेका छैनन् ।

आफ्नो विरोध गर्नेलाई अध्यक्ष यादवले अवसरबाट बञ्चित गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असर स्थानीय तहको निर्वाचनमा देखिएको छ ।

यादवले स्थानीय तहको निर्वाचनमा आफू निकटकालाई मात्रै जबरजस्ती टिकट दिएपछि धेरै ठाउँमा जसपाले पालिकाहरू गुमाउनु परेको छ । पार्टीभित्र सल्लाह नगरेर टिकट वितरण गरेपछि जसपा पराजित भएको छ ।

यसैबीच, जसपाका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन दवाव परेको छ ।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपक्षी विकास र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री छन् ।

उनीहरूलाई फिर्ता बोलाएर रिक्त स्थानमा आकांक्षीमध्ये चार सांसदलाई पठाउन सकिने अध्यक्ष यादवले असन्तुष्ट सांसदहरूलाई आश्वासन दिएका छन् ।

नयाँ मन्त्रीका लागि मृगेन्द्र यादव, राजकिशोर यादव, प्रमोद साह, प्रदीप यादव र अमृता अग्रहरीमध्येबाट पठाउने असन्तुष्ट सांसदहरूलाई अध्यक्ष यादवले आश्वासन दिएका छन् ।

मन्त्री बन्ने लोभमा महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवतिर बसेका प्रमोद साह, अमृता अग्रहरी, उमाशंकर अरगरिया, रेणुका गुरुङ, विमल श्रीवास्तव, रामदुलारी यादव रहेका छन् ।

जसपाका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई नपठाएमा पार्टी नै विभाजनसम्म हुने अवस्था सिर्जना भएको एक नेताले बताएका छन् ।

पार्टी विभाजन भयो भने एउटा पक्षको नेतृत्व बाबुराम भट्टराई र अर्को पक्षको नेतृत्व उपेन्द्र यादवले गर्नेछन् । बाबुराम भट्टराईसँग पार्टी विभाजन गर्न पुग्ने सांसदको आवश्यक संख्या रहेका छन् । पार्टी विभाजन गर्न ४० प्रतिशत अर्थात ८ जना सांसद आवश्यक पर्छ । जसपासँग १८ सांसद छन् ।

मन्त्री बन्ने बेला ६–६ महिनामा परिवर्तन गर्ने सहमति थियो । ८ महिना भइसक्दा समेत अध्यक्ष यादवले मन्त्रीहरूलाई बोलाउन मानेका छैनन् । उनले अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिन चाहेका छन् । अध्यक्ष यादवको यो कार्यलाई पार्टीभित्र रुचाइएको छैन ।

निरंकुशताविरुद्ध पार्टीका नेताहरूले यादवलाई पार्टी अध्यक्षबाट हटाउने तयारी समेत गरेको बुझिएको छ ।

Published : Thursday, 2022 June 9, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया