युवतीको ज्यान जाने घटना रोक्न नसक्ने डीएसपी सुवेदी जिल्ला तानिए

बर्दिया । नेपाल प्रहरीको मुख्यालयले बर्दियाको ईलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीलाई तानेको छ ।

डीएसपी सुवेदीले जिम्मेवारी पूरा गर्न नसकेपछि हेडक्वाटरले जिल्ला प्रहरी कार्यालय बर्दियामा फिर्ता बोलाइएको हो ।

राजापुरका डीएसपी सुवेदीलाई तानेर अर्का डीएसपी प्रकाश सापकोटालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार २४ वर्षीया नवीना थारुको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा प्रहरीले दमन गरेको थियो ।

प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमति भएको छ ।

यसैबीच, मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सह–सचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उप–सचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित सोमबार गुलरिया–राजापुर सडकखण्ड बन्द गरिएको थियो ।

स्थानीयले उक्त सडकखण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो ।

Published : Wednesday, 2022 June 8, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया