गगनका कुरा सुनेपछि एमालेका सांसदहरू मख्ख

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थ मन्त्रालयले करको दर हेरफेर गर्दा जनप्रतिनिधिलाई आश्वास्त पार्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा थापाले बजेटको प्रशंसा गरेका हुन् । उनले विगतका अर्थमन्त्रीले करको दर परिवर्तन गर्दा पारदर्शी नभएको आरोप लगाए ।

‘करको दर चलाउँदा आश्वास्त पार्नुपर्छ’, कांग्रेसका सांसद थापाले भने, ‘करमा पारदर्शिताको कुरा उठेको छ ।’

कांग्रेसको महामन्त्री समेत रहेका थापाले पछिल्ला वर्ष अर्थमन्त्रीले आफू अनुकूल कसैलाई फाइदा हुने गरी करका दर परिवर्तन हुने गरेको बताए ।

‘करको दर हेरफेर भाग्योदय चिठ्ठा जस्तो भयो । कसैलाई फाइदा कसैलाई घाटा हुने’, उनले भनेका छन् ।

तत्कालीन एमालेको सरकारका अर्थमन्त्री डा.युवराज खतिवडा र विष्णु पौडेलले चकलेट, विद्युतीय सवारीमा लगाएको करको नेता थापाले उल्लेख गरेका छन् ।

‘अघिल्लो पटक प्रतिस्थापन विधेयकबाट स्पन्ज आइरनमा करको दर परिवर्तन गर्दा कति उद्योगलाई धरासायी बनायो’, थापाले भने, ‘अध्ययन गर्न समिति बनायौं । त्यसको प्रतिवेदन कहाँ छ ?’

सांसद थापाले यो पटक जिआई वायरको विषयमा त्यस्तै प्रश्न उठेको बताएका छन् ।

अर्थमन्त्रालयले लिने नीतिले एउटा कुनै समूह, समुदाय, कुनै ग्रुपलाई फाइदा हुन नहुने उनले बताएका छन् ।

उनले अर्थतन्त्रको अहिलेको चुरो समस्या व्यापार घाटा भएको बताएका छन् ।

व्यापार घाटा कम गर्न उत्पादन बढाउनु पर्नेमा उनले बताएका छन् ।

बजेटले निजी क्षेत्रको मागको सम्बोधन भएको उनले बताए । ‘संस्थागत मागको सम्बोधन भएको छ’, थापाले भने, ‘जनताको तह र निजी क्षेत्रलाई विश्वास दिलाएको छ । सिद्धान्त, प्राथमिकताका हिसावले बजेट ठीक छ ।’

व्यापार घाटा कम गर्न टेक्स्टायल, जुत्ता, निर्माणजन्य वस्तुको उत्पादन बढाउने तथा निर्यातमा प्रोत्साहन गर्ने, आयातलाई दुरुत्साहन गर्ने गरी प्रधानमन्त्रीकै नेतृत्वमा रहने गरी कार्यक्रम ल्याएकोमा उनले धन्यवाद दिएका छन् ।

उत्पादनमा आधारित अर्थतन्त्रको स्पष्ट उद्देश्य बजेटले लिएकोमा थापाले खुसी व्यक्त गरे। कृषिमा उत्पादकत्व बढाउनुपर्ने उनले बताए ।

निजी क्षेत्रलाई आर्थिक वृद्धिदरको इन्जिन मानेर निजी क्षेत्रका विभिन्न संघसंस्थाले दिएको मागहरूको यथोचित सम्बोधन गर्नु सुखद् भएको धारणा राखेका छन् ।

‘जग्गाको हदबन्दीको विषयदेखि जग्गा लिजमा दिने विषय सकरात्मक छ’, सांसद थापाले भने, ‘कर्जा प्रवाहको विषय, वैदेशिक लगानीको विषय राम्रो नै छ ।’

खर्च गर्ने क्षमता नभएर चालु आर्थिक वर्षमा आकार नै संशोधन गर्नुपर्छ भनेर संशोधन गरेको भए पनि बजेटका आकार २० प्रतिशत हाराहारी बढाउने काम भएकाले आश्वास्त हुन सक्ने अवस्था नरहेको उनले बताएका छन् ।

कांग्रेसका सांसद थापाको बजेटमाथिको टिप्पणी र तर्क सुनेका एमालेका सांसदहरू चाख दिएर सुनेका थिए ।

Published : Thursday, 2022 June 2, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया