भक्तपुरमा राप्रपाबाट निर्वाचित वडाध्यक्ष फरार, केही पाटर्नरहरू पक्राउ

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडाध्यक्षमा निर्वाचित श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । उनलाई ठगीको आरोप लागेको छ ।

श्रेष्ठलाई सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमतिबिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेको छ ।

फरार रहेका राप्रपाका वडाध्यक्ष श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको छ ।

उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाट चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमतिबिना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो । केशव अधिकारी र ईश्वर गाइजु हाल अनुसन्धानका क्रममा थुनामा छन् । अन्य चार जना फरार छन् ।

जग्गा जग्गाधनीको अनुमतिबिना बिक्रीका लागि बैनाबापत करारनामा गरी पाँच करोड २० लाख रुपियाँ ठगी गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जाहेरी दिएका थिए ।

Published : Wednesday, 2022 June 1, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया