एमालेले बिरासतमा दिएको ऋणको कांग्रेस सांसद डा.रिजालद्वारा भण्डाफोर, जिल परेका विष्णु पौडेल मुसुमुसु हाँसे

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले बजेटको मूलदिशा ठीक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै डा.रिजालले बजेट जसरी आउनुपर्ने त्यसैगरी आएको बताए । उनले अर्थमन्त्रीले केही प्राथमिकता समातेर बजेट ल्याएको बताए ।

एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटको आलोचना गरेपछि त्यसको जवाफ दिँदै डा.रिजालले एमालेलाई नाङ्गेझार बनाएका हुन् । डा.रिजालको जवाफ सुनेर सांसद पौडेल मुसुमुसु हाँसेका थिए ।

‘मलाई पनि केही कुरामा टिप्पणी गर्ने मन थियो । तर, मभन्दा अगाडि बोलेको सुनेपछि त्यसको आवश्यक्ता कुनै बाँकी रहेन जस्तो लाग्छ’, उनले भने, ‘एउटा तरंग मेरो मनमा उठिरह्यो । पोहर साल उहाँले बजेटको विवरण संसद होइन, संसद प्रस्तुत गर्नुभएको यियो ।’

डा.रिजालले भने, ‘आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो ? उहाँले त्यस बेला अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभएको थियो । कोभिडले थलिएको थियो । खोप लगाउन शुरु पनि गरिएको थिएन । त्यस बेला ६.५ भन्नुभयो आज ८ हुँदा उहाँलाई अचम्म जस्तो लाग्यो ।’

‘६.५ प्रतिशतले मुद्रास्फिती हुन्छ भन्नुभएको थियो । आज ७ ले हुन्छभन्दा उहाँलाई अझै पुग्दैन भन्ने लागेको छ’, डा.रिजालले भने, ‘म यति भन्छु, भूमिका बदलिएको छ । भूमिका बदलिएको छभन्दैमा हामीले भन्ने कुरा आकाश जमिनले फरक पनि हुनु हुँदैन ।’

‘राजश्वको वृद्धिबारेमा २१.८ भन्नुभयो । उहाँ आफैले प्रस्तुत गरेका संसदभित्र र संसद बाहिर दुबै बजेटलाई हेर्नुभयो भने त्योभन्दा कम राख्नुभएको छैन कहिल्यै पनि’, उनले भने ।

‘गरिवी निवारण हुन्नभन्नु भयो । गरिवी निवारण कसरी हुन्छ ? मुलुकको अर्थतन्त्रको संरचना के छ ? मैले उहाँलाई बताइरहनु पर्दैन । बताउन चाहन्न पनि मैले’, कांग्रेस नेता डा.रिजालले भने, ‘मैले यति भन्छु हो आन्तरिक ऋण बढ्दै छ । त्यसले सिर्जना गर्ने समस्या छदैछ । तर, यो ऋण त बिरासतमा प्राप्त भएको हो नि ! ऋण उठाउनुपर्ने अथवा वित्तीय व्यवस्था गर्नलाई खर्च हामीले नयाँ सिर्जना गरेको होइन । एक पटक फर्केर हेर्ने हो भने यो संसद निर्वाचित भएर आउँदा ऋण वैदेशिक र आन्तरिक रहेको थियो । हामीले तिर्नुपर्ने अवस्था के थियो ? र तपाईहरूले छोड्ने बेला कहाँ पुग्यो ? त्यसलाई ठण्डा दिमागले एकपटक हेर्नुभयो भने त्यसको जिम्मा हामीलाई लगाउन सक्नु हुन्न नि ? अरु सबै जिम्मा दिए हुन्छ । यो जिम्मा किन लगाउनु हुन्छ ?’

उनले भने, ‘अब ट्रेण्डको कुरा गर्ने हो भने सार्वजनिक ऋणको वृद्धि भन्नु हुन्छ भने राजश्व अनुमानको, चालु खर्चको पुँजीगत खर्चको ऋण बढ्दै गएपछि वित्तीय व्यवस्था यी सबै स्वभाविक हुन् । व्यापार घाटा घट्ने क्रम, बढ्ने क्रम चालु खाता घाटा बढ्ने क्रम, वैदेशिक मुद्रा बढ्ने क्रम, सञ्चितीमा बढ्ने क्रम र बिप्रेषणप्रतिको हाम्रो निर्भरता बढ्ने क्रम ९ मनिादेखि शुरु भएको हो र ? यी त जस्ताको त्यस्तै थिएन नि ? बिरासतमा प्राप्त भएको छ । यी अर्थतन्त्रको चुनौतिलाई को सत्तामा छ र ? को सत्तामा छैन भन्ने कुराले परिवर्तन हुँदैन ।’

‘प्राथमिकीकरण एक ठाउँमा छैन डिफ्युट भयो भन्नुभयो । यो चाहिँ बिरासतमा प्राप्त भएको होइन र ?’, कांग्रेसका सांसद डा.रिजालले एमालेलाई प्रश्न गर्दै भने, ‘कुन चाहिँ बजेट पढ्ने ? म चुनौति दिएर भन्छु । १, २, ३ चार वटा बजेट तपाईहरूले राखेकोमा कुन चाहिँमा प्राथमिकता प्रष्ट थियो ? अहिले पनि प्राथमिकता हुनुहुँदैन भनेर भन्नुभयो । रेल पनि आयो, पानीजहाज पनि आयो बडो खुसी छौ भनेर । प्राथमिकता हुनुहुँदैन भनेर अन्यथा अर्थ त लाग्दैन होला नि ?’

‘७० वर्षबाट ६८ वर्षमा किन भयो भन्नुभयो ? पाँच हजार किन भएन भन्नुभयो ? सरकार त फेरियो नि ? तपाईहरूको घोषणा पत्र र कार्यक्रम कसरी आउँछ ? आएन स्वभाविक हो । यति त सम्झिदिनु पर्‍यो भन्ने मेरो अनुरोध हो’, डा.रिजालले भने, ‘कि त्यो पनि बिर्सनु भयो ? त्यो पनि मैले सम्झाइदिनु पर्‍यो ?’

कांग्रेस नेता डा.रिजालले तलब वृद्धिमा खुशी व्यक्त गर्नुभन्दा अर्को बिकल्प नरहेको बताए । उनले कृषि र उद्योगी, व्यवासयीका लागि बजेटले सम्बोधन गरेको बताए ।

Published : Tuesday, 2022 May 31, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया