कम्युनिस्टलाई धुलोचटाएर विमला बनिन् कांग्रेसको पहिलो मेयर, नगरपालिकामा दुईतिहाई बहुमत

हलेसी । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उप–मेयरमा नेपाली कांग्रेस निर्वाचित भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार मेयरमा कांग्रेसबाट उम्मेदवार बनेकी ४० वर्षीया विमला राईले आफ्ना प्रतिद्वन्द्वीलाई ३१५ मतको अन्तरले हराएकी छिन् । राईले ६३१७ मत पाएर निर्वाचित भएकी हुन् । मेयरमा निर्वाचित भएकी विमला अघिल्लो कार्यकालमा उप–मेयर थिइन् ।

विमलासँग एमालेका ५६ वर्षीय खड्न्द्र राई ५९६६ मत ल्याएर पराजित भएका छन् ।

उप–मेयरमा कांग्रेसका ३३ वर्षीय रमेशकुमार राउत ५९३४ मतसहित विजयी भएका छन् । राउतसँग माओवादी केन्द्रका ५१ वर्षीय अमेम्बर राई ५६६१ मत ल्याएर पराजित भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा ११ वटा वडा छन् । कांग्रेसले ८ वटा वडामा जित हातपारेको छ । एमालेले २ र माओवादीले १ वडामा जितेको छ ।

वडा नं. १ मा कांग्रेसबाट ५० वर्षीय रुद्रकुमार राई (४८८), वडा नं. २ मा ४९ वर्षीय देवेन्द्रकुमार राई (५३७), वडा नं. ३ मा ६१ वर्षीय भुपालसिं राई (५६७), वडा नं. ४ मा ३१ वर्षीय किशोरकुमार बस्नेत (४२१) निर्वाचित भएका छन् ।

वडा नं. ५ मा ३८ वर्षीय रुपेन्द्रकुमार राई (६८२), वडा नं. ७ मा कांग्रेसबाट ३५ वर्षीय कमल गिरी (७४१), वडा नं. ८ मा ३० वर्षीय टेकराज राई (५७५) र वडा नं. ९ मा ४५ वर्षीय काशीराज राई (३९१) कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नं. ६ मा माओवादीका ३७ वर्षीय गन राई (५६४) तथा एमालेबाट वडा नं. १० मा ३९ वर्षीय अर्जुनकुमार पुरी (५६५) र वडा नं. ११ मा २९ वर्षीय अनिश कार्की (६७५) विजयी भएका छन् ।

यसैबीच, मेयरमा निर्वाचित भएकी विमलाले आफूलाई मतदान गर्ने मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिँदै आभार प्रकट गरेकी छिन् । उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

उनले भनेकी छिन्, ‘मैले कांग्रेसबाट प्रतिनिधित्व गरे पनि अब म सबैको मेयर हुँ । कसैप्रति भेदभाव हुने छैन ।’

महिलाहरू नगरपालिकाको मेयरमा विरलै छन् । त्यसमध्ये विमला कांग्रेसबाट नगरपालिकाको मेयरमा निर्वाचित हुने पहिलो महिला नेतृ बनेकी छिन् । मेयरमा निर्वाचित विमलाले आफ्नो नगरपालिकामा दुईतिहाई वडा र सदस्यहरू जिताएकी छिन् ।

कांग्रेसले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहलाई मेयरमा टिकट दिएको थियो ।

Published : Thursday, 2022 May 19, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया