बाग्लुङको ‘शक्तिशाली’ नगरपालिका कांग्रेसले पल्टाएपछि जिल परे एमालेहरू

बाग्लुङ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा शानदार जित निकालेको छ ।

बुधबार निर्वाचन आयोगले दिएको जानकारीअनुसार मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका बसन्तकुमार श्रेष्ठ ५ हजार ८ सय ५७ मतको अन्तरले निर्वाचित भएको बाग्लुङ कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरले जानकारी दिएका छन् ।

श्रेष्ठले १४ हजार ६ सय ७८ मत पाएर विजयी भएका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले ८८२१ मत पाएर पराजित भएका छन् ।

उप–मेयरमा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२४२७ मत पाएका छन् । खड्कासँग निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्का ८०६५ मतसहित पराजित भएका छन् ।

१४ वटा वडा रहेको बाग्लुङ नगरपालिकामा कांग्रेसले ७ वटा वडामा वडाध्यक्षमा जित हासिल गरेको छ ।

वडा नं. १ मा कांग्रेसका जयबहादुर खत्री (४७४), २ मा नेकपा (एकीकृत समाजवादी)का सुरज बोसेल (४२८), ३ मा कांग्रेसका शनि केसी (९८३), ४ मा माओवादीका कुमारविक्रम क्षेत्री (१०३३), ५ मा हरिप्रसाद शर्मा (७३८), ६ मा एमालेका रुद्रबहादुर केसी (७८७), ७ मा एमालेका मेघनाथ शर्मा (१००५) निर्वाचित भएका छन् ।

८ मा कांग्रेसका छमबहादुर कार्की (९६३), ९ मा राजु थापा (१२३९), १० मा नेकपा (एकीकृत समाजवादी) तिलबहादुर थापा मगर (८९६), ११ मा कांग्रेसका ज्ञानेन्द्र गौतम (७९०), १२ मा स्वतन्त्रबाट कोपिलामणि शर्मा (१३३८), १३ मा कांग्रेसका नारायण शर्मा पौडेल (१७०८) र १४ मा कांग्रेसका चक्रबहादुर खत्री (११६३) वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बाग्लुङ जिल्लामा एमालेले आफ्ना पकड बनाएर राखेको थियो । यस पटक कांग्रेसले एमालेको पकडबाट स्थानीय तहहरू खोसेको छ । बाग्लुङमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) गठबन्धन गरेर प्रतिस्पर्धा गरेका थिए ।

Published : Wednesday, 2022 May 18, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया