कांग्रेसको निर्देशन नमानेर बागी र एमालेलाई साथ दिने पाँच जनालाई निलम्बन

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार विज्ञप्ति जारी गरेर चितवन कांग्रेसका नेताहरुलाई निलम्बन गरेको जनाएका हुन् ।

चितवनको भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा.केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले यसअघि पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि निष्कासन गरेको थियो ।

कांग्रेसको निर्देशनलाई उल्लंघन गरेर बागी उम्मेदवारलाई साथ दिएका उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको छ । निलम्बनमा परेका सबैले पार्टीको निर्देशन नमानेर एमालेलाई सहयोग गर्ने गरेर बागीलाई साथ दिएपछि कारबाहीमा परेका हुन् ।

Published : Thursday, 2022 May 12, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया