ओलीको नाराले कांग्रेसका कार्यकर्ता मुर्छा परेर हाँसे, एमालेले देशभरिका जनतालाई उल्लु बनायो

काठमाडौं । ‘ओलीजीले काम गरे, कांग्रेसले विरोध मात्र गर्‍यो’ यो नारा एमालेको स्थानीय तह केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिले बनाएको हो ।

२०७४ सालको निर्वाचनमा मतदाताले राजनीतिक स्थायित्वका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई झण्डै दुईतिहाई बहुमत दिए । त्यसपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओली झण्डै दुईतिहाई बहुमतका साथ प्रधानमन्त्री बने । जनताले कांग्रेसलाई यस्तो ठाउँमा पुर्‍याइदिएकी कांग्रेसले सरकारको विरोध गर्ने अवस्थामा पनि रहेन । गलत कुरामा बाहेक कांग्रेसले सरकारको कहिल्यै पनि विरोध गरेन । ओली सरकारलाई सहयोग नै गर्‍यो ।

सरकार सम्हालेको केही महिनाभित्रै एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । ओलीले झण्डै साढे तीन वर्ष सरकार चलाए ।

साढे तीन वर्षसम्म ओलीले निर्वाचनमा गरेका प्रतिवद्धता र घोषणा पत्रमा भएको कुनै पनि काम गरेनन् । बरु आफ्नै पार्टीका नेता र विरोधीहरूलाई सिध्याउनतिर लागे । विरोधी सिध्यान लाग्दा आफू पनि सिद्धिए ।

ओलीले निर्वाचनमा बोलेको कुरा कुनै पनि पूरा भएको छैन । अहिले आएर ओलीले नेपाली कांग्रेसले विरोध मात्रै गरेर काम गर्न दिएन भनेर नारा बनाएका रहेछन् । ओलीले यो नारा बनाएर जगत हँसाएका छन् ।

ओलीले निर्वाचनमा पूर्वपश्चिम रेल चलाउने भनेका थिए । चीनबाट काठमाडौंसम्म रेल ल्याउने भनेका थिए । वृद्ध भत्ता बढाएर ५ हजार पुर्‍याएर घर–घरमा ल्याइदिने भनेका थिए । घर–घरमा पाइपबाट ग्यास ल्याइदिने भनेका थिए । पानीजहाज ल्याउने भनेका थिए । ती कुनै पनि कुरा भएका छैनन् । ओलीले जनतासमक्ष झुठ बोलेको पुष्टि भएको छ ।

कांग्रेसले ओलीको सरकार ढाल्ने अवस्थामा पनि थिएन । ओलीविरुद्ध अविश्वासको प्रस्ताव त के प्रतिनिधि सभाको बैठक बोलाउनका लागि पनि संसदमा संख्या छैन ।

कांग्रेसले झण्डै दुईतिहाइको ओलीको कम्युनिस्ट सरकारलाई पाँच वर्षसम्म चलाउन भनेर हात उठाएर छाडिदिएको थियो । कुनै पनि दिन ओली सरकारविरुद्ध कांग्रेसले ठूलो स्वरले बोलेन । लगातार संसद अबरोध गरेर सरकारका कामकारबाहीमा बाधा पुर्‍याएन । तर, सत्ता फुत्किनेवित्तिकै ओलीले ७/८ महिनादेखि लगातार संसद अबरोध गरेर सरकारलाई काम गर्न दिएका छैनन् ।

जनताले दिएको मतको अपमान गरे । नेकपा भन्ने पार्टी फुटाएर एमाले र माओवादी केन्द्रलाई ब्यूँताए । अब ओली के मुख लिएर मतदाताको माझमा भोट माग्न जाने हुन् ? हेर्न बाँकी छ ।

जनताले दिएको दुईतिहाइ बहुमत ओली र कम्युनिस्टहरूका लागि ‘भेँडाको मुखमा कुभिण्डो’ बनेको छ । कम्युनिस्टले देश चलाउन सक्दैनन् । उनीहरू भ्रष्टाचारी हुन् ।

ओलीकै मन्त्री गोकुल बास्कोटा प्रिन्टिङ प्रेसको ७० करोड कमिशन काण्डमा परेर मन्त्री पद गुमाउन पुगे । ओलीले यती समूहलाई सरकारी महँगा र राम्रा जग्गा, जमीन र जंगल कौडीको भाउमा दिए । चकलेटमा राजश्व छुट दिएर व्यापारीलाई पोस्ने काम गरे । ईलेक्ट्रिक गाडीको भन्सार दर बढाए । ओलीले सुपारी र केराउ तस्करलाई संरक्षण गरे । ओलीले झापामा गिरीबन्धु चिया कम्पनीको जग्गामा अर्बौंको काण्ड गरे ।

ओलीका अनगिन्ती हर्कत र बद्मासीहरू छन् । ती सबै कुराको भण्डाफोर हुने डरले ओलीले कांग्रेसमाथि आरोप लगाउन थालेका छन् । ओली देशदौडाह छन् । उनले जनतासँग फेरि भोट माग्न थालेका छन् ।

आफ्नै पार्टी र नेताहरूलाई बचाउन नसक्ने ओलीले फेरि पनि जनतालाई उल्लु बनाएर भोट लिने प्रयास गरेका छन् । ओलीको झुठको पर्दाफास भइसकेको छ ।

ओलीको हर्कत र व्यवहारले गर्दा सबै कम्युनिस्टहरू नेपाली कांग्रेसको पछाडि लागेका छन् । ओली अहिले एक्लिएका छन् । ओलीसँग हिन्दूराष्ट्र र राजसंस्था बेचुवा राप्रपा नेपालका अध्यक्ष कमल थापा र क्रिश्चियन धर्मका प्रचारक नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल मात्रै छन् ।

कांग्रेससँग माओवादी केन्द्र, (नेकपा एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । यी दलहरू अघिल्लो निर्वाचनमा ओलीसँग थिए । ओलीको अहँकार, दम्भका कारण सबै कम्युनिस्टहरू कांग्रेससँग रहेका छन् ।

Published : Sunday, 2022 April 17, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया