भ्रमणबारे देउवाले ओलीसँग कुरा गरेकै थिएनन् ? डा.महतको खुलासाले ओली नाङ्गेझार भए

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल एमालेका अध्यक्षलाई वास्ता नगरेको बताएका छन् ।

शनिबार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार बितरण कार्यक्रममा सम्बोधन गर्दै डा.महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणबारे ओलीलाई बेवास्ता गरेको आरोप गलत रहेको बताए ।

‘प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन । छलफलमा बोलाउनुभएन । फोनसमेत गर्नुभएन । वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्तहरूबाट भैरहेको छ । त्यो सरासर असत्य हो । झूट हो’, प्रवक्ता डा.महतले भने ।

‘प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको हो । ओलीजीले म बाहिर हुन्छु । आउन सक्दिन भन्नुभयो’, डा.महतले भने, ‘आफू आउन नसक्ने । आउदिन भन्ने अनि अहिले आरोप लगाउने ?’

पूर्वपरराष्ट्रमन्त्री डा.महतले नेपाली कांग्रेसले सधै सत्य बोल्ने र बोले अनुसार काम गर्ने गरेको पनि बताए ।

कांग्रेसले देशको हित र देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको डा.महतले बताएका छन् ।

उनले भने, ‘हामी सत्तामा हुँदा पनि नहुँदा पनि आफ्नो बोली, बचन र अडान फेर्दैनौ ।’

डा.महतले आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरूसंग नेपालका हित र चासोका विषय स्पष्ट राख्ने गरेको बताए ।

‘पूर्वप्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नुहुन्छ तर, संबन्धित ठाँउमा कुरा राख्न सक्नुहुन्न । उहाँले राख्दै राख्नुभएन’, डा.महतले भनेका छन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरू उठाउने डा.महतले बताएका छन् ।

‘उहाँले सबै कुरा उठाउनु हुन्छ’, उनले भनेका छन्, ‘तत्काल भोलि नै टुंगो लाग्छ भन्ने होइन । तर, विषय उठाउनु हुन्छ ।’

उनले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको रहेको बताएका छन् ।

एमसीसीको प्रसंग निकाल्दै डा.महतले कम्युनिष्ट पार्टीहरूमा जे विषयलाई पनि राष्ट्रियतासंग जोडेर जनता भड्काउने प्रवृत्ति रहेको बताएका छन् ।

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका सरकारहरूले समेत अगाडि बढाएको एमसीसी अनुदान सहयोग संझौताका बारेमा सो संझौतामा उल्लेख नै नभएका विषय उठाएर जनतालाई दिग्भ्रमित बनाउन खोजिएपछि कांग्रेसले सत्य बोल्न विवस भएको बताएका छन् ।

उनले वीपी कोइरालाको जब सत्यको मुख बन्द हुन्छ, झूटोका थुतुनो चल्छ भन्ने भनाई उद्घृत गर्दै भने, ‘यो अनुदान सहयोग हो । यसको सावा ब्याज तिर्न पर्दैन । यो नेपालको माग अनुसार आएको हो । यो विद्युत र सडक निर्माणका तोकिएका परियोजना बाहिर खर्च गर्न पाइँदैन । यसको सञ्चालन नेपालको अर्थसचिव अध्यक्ष रहने एमसीएबाट हुन्छ । प्रतिस्पर्धामा ठेक्का लाग्छ । परियोजनाहरू पूरा भएपछि त्यसका भौतिक सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण हुन्छ । यथार्थ बाहिर आएपछि विरोध गर्नेहरू पनि समर्थनमा आए र संसदबाट पारित भयो ।’

उनले आफूले गरेका कामका बारेमा सार्वजनिक रुपमा प्रचार गर्न कांग्रेसले नसकेकोे बताए ।

Published : Saturday, 2022 April 2, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया