एआईजीमा लामो अनुभव भएका पोखरेलको नेतृत्व पाउँदै प्रहरी

काठमाडौं । नेपाल प्रहरीले लामो समयपछि चार वटा विभागको कमाण्ड सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रहरी महानिरीक्षक (आईजीपी)का रुपमा पाउन लागेको छ ।

वैशाख २० गते हालका आईजीपी शैलेश थापा क्षेत्रीले उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् । त्यसपछि एआईजी विश्वराज पोखरेलले आईजीको नेतृत्व सम्हाल्न पाउनेछन् । हालका एआईजीहरूमा पोखरेल पहिलो वरीयतामा छन् ।

निर्वाचनको मुखमा पोखरेलले प्रहरी संगठनको नेतृत्व पाउन लागेका हुन् । एआईजी पोखरेल अनुभवी, परिपक्व र सक्षम मानिन्छन् । सरकारलाई उनको लामो अनुभवले चुनावका बेला शान्तिसरक्षा कायम गर्न ठूलो सहयोग हुने चर्चा प्रहरीभित्र छ ।

पोखरेलसँग चार वटा विभागको प्रमुख भएर काम गरेको लामो अनुभव छ । एआईजी पोखरेलसँग कार्यविभाग, अपराध अनुसन्धान विभाग, मानव विभाग र प्रशासन विभाग चलाएको अनुभव छ ।

‘संगठनको चार वटा विभाग सम्हालेको परिपक्व, लामो समय एआईजी रहेर अनुभव सम्हालेका विश्वराज पोखरेललाई प्रहरी संगठनले नेतृत्व पाउँदैछ’, प्रहरीका एक उच्च अधिकारीले भनेका छन् ।

अहिलेका आईजीपी क्षेत्रीसँग तीन महिनामात्रै एआईजी बनेको अनुभव छ । मेट्रोमा डीआईजीका रुपमा बसेका बेला क्षेत्रीको एआईजीमा बढुवा भएको थियो । एआईजी बनेको तीन महिनामा क्षेत्री आईजीपी बनेका थिए ।

उपेन्द्रकान्त अर्याल १५ दिनको एआईजीबाट आईजीपी बनेका थिए । प्रकाश अर्याल डीआईजीबाट सिधै आईजीपी भएका थिए ।

सर्वेन्द्र खनाल ट्राफिकको डीआईजीबाट सिधै आईजीपी भएका थिए । ठाकुर ज्ञवाली पूर्वक्षेत्रको डीआईजीबाट सिधै आईजीपी बनेका थिए ।

एआईजीबाट आईजीपीमा बढुवा हुने व्यवस्था छ । यसअघि एआईजीको अनुभव नभएका डीआईजीलाई आईजीपी बनाइएका थिए ।

Published : Wednesday, 2022 March 23, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया