कांग्रेस हराउन कम्युनिस्टको गोटी बन्नेहरूलाई निर्मम तरिकाले कारबाही

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक इन्जिनियर्स समूह (सिडेन)ले बागी उम्मेदवारलाई कारबाही गरेको छ ।

लोकतान्त्रिक प्यानलबाट अर्को समूह बनाई प्रतिस्पर्धामा उत्रिएपछि सिडेनले दिलीपकुमार झाको नेतृत्वमा आधिकारिकताको दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएको समूहलाई कारबाही गरेको हो ।

सिडेनले झासहित उपाध्यक्षका उम्मेदवार ऋषि कोइराला, महासचिवका उम्मेदवार कृष्णसिंह बस्नेतसहित ११ जनालाई कारबाही गरेको छ ।

सिडेन महासचिव रोशनराज गिरीले सूचना निकालेर संस्थाको हितविपरीत गएकाले कारबाही गरिएको बताए ।

लोकतान्त्रिक समूहबाट डा. हरि दर्लामीको नेतृत्वमा उपाध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उप–महासचिवमा सरोज धिताल र कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः दिनेश त्रिपाठी र दीपक अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुई समूह प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूहबाट आधिकारिक उम्मेदवार र प्यानल कुन हो भन्ने प्रश्न उठेको छ ।

कांग्रेसले लोकतान्त्रिक समूह (सिडेन)ले घोषणा गरेको प्यानललाई नै आधिकारिक मान्ने जनाएको छ ।

कम्युनिस्टको गोटी बनेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई हराउन बागी उम्मेदवारी दिएकाहरूलाई कांग्रेसले निर्मम तरिकाले कारबाही गरेको छ ।

Published : Thursday, 2022 March 10, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया