कांग्रेसको पक्षमा देशभरि लहर आएको ओली खुलासा, ‘रुखैरुख’ देखेपछि बरबराए

काठमाडौं । झण्डै दुईतिहाइको बहुमत हुँदाहुँदै पार्टीमा व्यवस्थापन गर्न नसक्दा र सरकार चलाउन नसकेपछि सत्ता गुमाएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारको हरेक काम आफूविरुद्ध भएको देख्न थालेका छन् ।

प्रधानमन्त्री पद फुत्किएपछि तनाबमा परेका ओलीले लगातार संसद अबरोध गर्दै आएका छन् । ओलीले संसद अबरोध गरेको ७ महिनाभन्दा धेरै समय भएको छ ।

राजनीतिक सहमतिमा आएर अगाडि बढ्न ओलीको चाहना छैन । बरु मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, सरकारलाई असहयोग गर्ने, सरकारका राम्रा कामको पनि विरोध गर्ने जस्ता कार्य उनले गर्दै आएका छन् ।

ओली कांग्रेसको छायाँसँग पनि डराउन थालेका छन् । कांग्रेसको चुनाव चिन्ह ‘रुख’को हरियो रंगसँग पनि एमालेका अध्यक्ष ओली झस्किएका छन् । हरियो रंगलाई ओलीले षड्यन्त्र मानेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा चुनाव चिन्ह हरियो रंगको बनाउने निर्वाचन आयोगको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले हरियो रंगको चिन्ह किन राख्ने ? भनेर आयोगलाई प्रश्न गरेका छन् । उनले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ भएको र त्यसै अनुसारको रङ राख्न खोजिएको आरोप लगाएका छन् ।

‘कसैको हरियो देखिने चिन्ह भएर हो ?’, ओलीले भने, ‘कमजोर आँखा हुनेहरूले रुखैरुख देखुन् भनेर हो ?’

उनले यसबारे आयोगले जवाफ दिनुपर्ने बताएका छन् । ‘मलाई थाहा छैन । मैले एउटा सञ्चार माध्यममा हेरेको थिएँ’, उनले भने, ‘निर्वाचन आयोगले मतपत्रमा चिन्हहरूमा हरियो राख्ने भयो रे ! हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनुपर्‍यो ।’

‘हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन । म अत्यन्त व्यस्त भइरहेको छु’, उनले भने, ‘उहाँहरूसँग सोधौँला, बुझौँला ।’

उनले भनेका छन्, ‘यदि हो भने कुन हिसाबले राख्ने? यो धार्मिक हिसाबले राख्ने हो ? के हिसाबले हो यो चिन्ह राख्ने ? अथवा कसैको हरियो देखिने चिन्ह छ कसैको, त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो ? किन हरियो राख्ने ?’

‘यदि हरियो राख्ने निर्णय गरेको हो भने, होइन भने सञ्चार माध्यमले आफ्नो त्रुटि सच्याउनुपर्छ’, ओलीले भने, ‘यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’

निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो । आयोग संवैधानिक निकाय हो । आयोगमा सरकारको हस्तक्षेप हुँदैन । आयोग आफैले गरेको निर्णयलाई ओलीले आफूविरुद्धको षड्यन्त्र देखेका छन् ।

आयोगको प्रमुख आयुक्त दिनेश थपलिया ओली प्रधानमन्त्री हुँदा नै नियुक्त गरेका थिए । ओली निर्वाचनबाट भाग्न र कांग्रेसको पक्षमा लहर आएको देखेर आत्तिएपछि यो छुद्र अभिव्यक्ति दिएको चर्चा छ । ओलीको यो अभिव्यक्तिले देशभरि कांग्रेसको पक्षमा जनलहर आएको विश्लेषण हुन थालेको छ ।

Published : Tuesday, 2022 March 8, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया