ओली–दाहालसँगको बैठकपछि देउवाद्वारा कांग्रेसका टप नेताहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्री र महान्यायधिवक्तासँग एमसीसीका विषयमा परामर्श गरेका छन् ।

आइतबार साँझ देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू तथा महान्यायधिवक्ता खम्मबहादुर खातीसँग एमसीसीलाई संसदमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि दुई मन्त्री र महान्यायाधिवक्तासँग सम्वाद गरेका हुन् ।

आगामी माघ २६ गते प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची तय भएकाले त्यसलाई लक्षित गर्दै देउवाले छलफललाई तीव्रता दिएका हुन् ।

यसैबीच, एमसिसी सम्झौता अगाडि बढाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री बडूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

एमालेले लामो समयदेखि संसद बैठक अवरूद्ध गर्दै आएको छ । संसद बैठक सुचारू गर्ने वातावरण तयार गर्न र एमसिसी सम्झौता टेबुल गरी छलफल गर्न कानून मन्त्री बडूले आइतबार सभामुख सापकोटासँग छलफल गरेका हुन् ।

‘संसद बैठक माघ २६ मा बस्दैछ, त्यसका एजेन्डा तय गर्न कार्यव्यवस्था समिति बैठक कहिले राख्नेजस्ता कुराकानी भएको हो’, मन्त्री बडूले भनेका छन् ।

‘एमसीसी सम्झौता पनि बाहिरबाहिर छलफल भइरहेको छ’, बडूले भने, ‘यसलाई संसदमा टेबुल गरेर छलफल गर्नुपर्छ ।’

सभामुख सापकोटाले संसद बैठक सुचारू हुने वातावरण बन्नुपर्ने बताएका थिएका छन् ।

कार्यव्यवस्था समिति बैठक पनि छलफल गरेर केही दिनभित्रै राख्ने सभामुख सापकोटाको भनाइ थियो ।

सरकारले एमसिसी सम्झौता अगाडि बढाउन खोजेको छ । गठबन्धनभित्रै यसबारे एकमत हुन सकिरहेको छैन ।

Published : Sunday, 2022 February 6, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया