ओली र भण्डारीबीच गोप्य भेट

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका ओलीले शनिबार बेलुका शीतल निवासमा पुगेर भण्डारीसँग भेट गरेका हुन् । ओली र भण्डारीका बीच एमसीसी, स्थानीय तहको निर्वाचन र सरकारको कामकारबाहीका विषयमा छलफल भएको बुझिएको छ ।

राष्ट्रपति भण्डारी एमालेकी पूर्वउपाध्यक्ष समेत हुन् । एमालेलाई फाइदा हुने गरेर केही दिन अगाडि भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएर स्थानीय तहको निर्वाचन समयमा गर्न आग्रह गरेकी थिइन् ।

संविधान र कानून विपरीत भण्डारीले कार्य गरेको भन्दै आलोचना भएको थियो । भण्डारीले अहिले आएर फेरि आफ्नो पार्टीका अध्यक्ष ओलीसँग सुटुक्क भेट गरेकी छिन् ।

भण्डारीले राष्ट्रपति पदको गरिमालाई बचाउन नसकेको भनेर आलोचना भइरहेका बेला ओलीसँग भेट गरेकी छिन् ।

तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला ओलीले प्रतिनिधि सभालाई दुई पटकसम्म बिघठन गर्दा भण्डारीले सो निर्णयलाई सदर गरेकी थिइन् । भण्डारीले ओलीका गलत हर्कतलाई साथ दिएकै कारण झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार साढे तीन वर्षमा ढलेको थियो ।

कम्युनिस्टहरू असफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व लिइरहेका छन् ।

Published : Saturday, 2022 February 5, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया