गृहजिल्ला तनहुँमा रामचन्द्र समूहको शानदार पराजय, देउवाको पक्षमा जितप्रकाशले इतिहाँस रचे
तनहुँ । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आलेले शानदार जित हासिल गरेका छन् ।
आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार आलेले ९५१ मत पाएका छन् । आले सभापति शेरबहादुर देउवा निकटका हुन् ।
आलेका प्रतिद्वन्द्वी वैकुण्ठनाथ न्यौपानेले ७८३ मत प्राप्त गरेका छन् । आलेले न्यौपानेलाई १६८ मतान्तरले जितेका हुन् ।
सभापतिमा पराजित न्यौपाने हालका सभापति र व्यास नगरपालिकाका प्रमुख हुन् । न्यौपानेलाई नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन थियो ।
केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुब वाग्लेको साथ आलेलाई थियो ।
सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका नेता रामचन्द्र पौडेललाई आफ्नै गृहजिल्लामा ठूलो धक्का लागेको छ ।
उप–सभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठले ९०७ मत र देवकुमार श्रेष्ठ ८७६ प्राप्त गरी जित हासिल गरेका छन् । उनीहरू देउवा समूहकै हुन् ।
उप–सभापतिमा पौडेल समूहका उदयराज गौलीले ७२१ र किसान गुरुङले ८६६ मत प्राप्त गरेर पराजित भएका छन् ।
सचिवमा लक्ष्मीभक्त खनालले १०२० र सहदेव अधिकारी ८१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिष्पर्धी केशबहादुर सुनारले ७२७ र मोहन गिरीले ८०७ मतसहित पराजित भएका छन् ।

सह–सचिवमा मिलन आलेले ९२० मत र परमेश्वर भट्टराईले ८५९ मतका साथ विजय भएका छन् । उनीहरूका प्रतिष्पर्धी हुतमणि अधिकारीले ७७६ मत र धिरेस खनालले ७७४ मत पाएर पराजित भएका छन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनमा १८१६ मध्ये १७८३ मत खसेको निर्वाचन अधिकृत फणिन्द्र कोइरालाले जानकारी दिएका छन् ।
तनहुँ क्षेत्र नं. १ बाट ९ सय २५ मत र क्षेत्र नं २ बाट ८ सय ५८ मत खसेको थियो ।
नेता पौडेल आफ्नै गृहजिल्ला तनहुँमा निकै कमजोर भएका छन् । जिल्ला सभापति समेत पौडेलले गुमाएका छन् ।
वडा, स्थानीय तह, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रहरू पनि नेता पौडेलले गुमाएका छन् । गण्डकी प्रदेशमा पौडेल कमजोर भएका छन् ।
कमजोर भएका नेता पौडेलले तनहुँलाई छाडेर काठमाडौंबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भनेर चर्चा पनि हुन थालेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया