फिल्डमा उत्रिए प्रचण्ड, राष्ट्रिय जागरण सञ्चालन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ ।

मंसिर २५ गतेसम्म चल्ने यो अभियानमा सक्रिय सहभागिता जनाउन नेकपाले आम जनसमुदायलाई अपील पनि गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार जारी गरेको अपीलमा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकासँग सम्बन्धित समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।

दाहालले महँगी, बेरोजगारी, युवा पलायन, भ्रष्टाचार र आर्थिक असुरक्षा लगायत समस्या समाधान गर्न जनतासँग प्रत्यक्ष संवाद गर्ने जनाएका छन् ।

अभियान क्रममा किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग संवाद गरिने उल्लेख छ ।

नेकपाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फरक मतप्रति असहिष्णु व्यवहार, नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना हुने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारमाथि प्रश्न उठाएको जनाएको छ ।

भदौ १० को बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको लापरबाहीप्रति पार्टीले आपत्ति जनाएको छ ।

विपद प्रभावित नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन, राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

अभियान क्रममा जनताका समस्या, गुनासा, सुझाव र आलोचना संकलन गरी सम्बन्धित स्थानीय, प्रदेश र संघीय निकायसमक्ष पु¥याउने तथा समाधानका लागि निरन्तर पहल गर्ने नेकपाका संयोजक दाहालले जनाएका छन् ।

राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद तथा सहकार्य गर्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय र निजी क्षेत्रलाई आह्वान गरिएको संयोजक दाहालको अपीलमा उल्लेख छ ।

Published : Sunday, 2026 October 25, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया