गृह मन्त्रीको गृहजिल्लामा कांग्रेस सभापतिमा रामकृष्ण निर्विरोध, खुसी भए कार्यकर्ताहरू

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार बिहान भएको निर्वाचन प्रक्रियामा सभापतिमा कसैले पनि मनोनयन दर्ता नगराएपछि खाण सभापतिमा सर्वसम्मत भएको कांग्रेस नेता विमल ढकालले जानकारी दिए ।

खाण यसअघि रुपन्देही कांग्रेसको जिल्ला सचिव थिए । सभापतिमा निर्विरोध भएका खाण गृहमन्त्री बालकृष्ण खाणका भाई पनि हुन् ।

कांग्रेस नेता खाणले आफ्नो गृहजिल्ला रुपन्देहीमा सभापतिमा सर्वसम्मत बनाएर कार्यकताको मन राखेका छन् । सभापतिमा निर्विरोध भएका खाण सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

सदस्य र अन्य पदमा निर्वाचन हुनेछ । गृहमन्त्री खाण, नेता भरतकुमार शाहसहितका सबै पक्षका नेताहरूले सुझबुझ र समझदारीमा सभापतिमा खाणलाई निर्विरोध गराएर देशभरि सकारात्मक सन्देश दिएका छन् ।

सभापतिमा निर्विरोध भएपछि युवा नेता खाणले सबैलाई धन्यावाद दिएका छन् । उनले भने, ‘म सबै कांग्रेसको सभापति हुँ । यो वा त्यो भनेर कसैलाई भेदभाव गर्नेछैन । हामी मिल्यौ भने जस्तो पनि समस्या समाधान गर्न सक्छौँ भन्ने सन्देश दिएका छौँ ।’

आफूलाई सभापतिमा निर्विरोध बनाउन सहयोग गर्न सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूप्रति खाणले कृतज्ञता प्रकट गरेका छन् ।

Published : Saturday, 2021 November 27, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया