डडेल्धुराबाट देउवा, आरजुसहितका नेताहरू सर्वसम्मत प्रतिनिधि चयन
डडेल्धुरा । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।
सोमबार गृहजिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशनबाट देउवा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा बाहिरबाटै टिक लगाएर निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
देउवालाई पहिला पनि यस्तै प्रक्रियाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत गरिँदै आइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।
त्यसैगरी, कांग्रेस नेतृ एवम् देउवा पत्नी आरजु राणा पनि सर्वम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् ।
सरस्वती खड्का, कौशिल्लाकुमारी भट्ट र कलावती बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
दलिततर्फ सन्तोष जैरु, अपाङ्गतर्फ जगदीश भट्ट पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।
जिल्ला कार्यसमितिको उप–सभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सह–सचिवमा प्रेमबहादुर महर र गोविन्दराज बोहरा पनि सर्वसम्मत भएका छन् ।
कांग्रेस डडेल्धुराको सभापतिमा भीमबहादुर साउद र चुडामणि ठकुराठी प्रतिष्पर्धा भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया