कांग्रेसको असल नीति भत्काउने कम्युनिस्ट सरकारको निर्णय, होस् गर्न सानेपाको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरूको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य रहेको फिर्ता लिन चेतावनी दिएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि ठूलो आशंका पैदा भएको जनाएका छन् ।
उनले सरोकारवालाहरूले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ’, शर्माले भनेका छन् ।
‘त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरू हाम्रो भरपर्दाे आधार हुन्’, उनले भने, ‘०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरू देशमा छन् ।’
‘समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।
‘त्यसका लागि सक्षम प्रतिष्ठानहरूलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तीकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो’, विज्ञप्तिमा भनिएको छ ।
‘त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ’, प्रवक्ता शर्माले भनेका छन् ।
‘भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरूसंग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन दिन चाहन्छ’, शर्माले भनेका छन् ।
कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले कांग्रेसले असल नीति बनाएर ल्याइएका क्यान्सर प्रतिष्ठान र संस्थाहरूलाई समाप्त पार्ने गरेर हर्कत गरेपछि कांग्रेसले विरोध जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया