लुम्बिनीको उपाध्यक्षमा नियुक्त आनीविरुद्ध काठमाडौंमै प्रदर्शन, तिब्बती नागरिकको आरोप

काठमाडौं । विवादित व्यक्ति आनी छाइङ डाल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा सरोकारावालाहरूले प्रदर्शन गरेका छन् ।

आनीलाई उपाध्यक्षमा नियुक्त गरिएको विरोधमा बौद्ध भिक्षुहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । हातमा विभिन्न नारा लेखिएका प्लेकार्डहरूसहित प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै ‘तिम्रो कालो चस्माले पर्दाभित्रको कालो कर्तुत कहिले देख्ने सरकार ?’ लेखिएका प्लेकार्ड बोकेर नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

प्रदर्शनमा सहभागी भिक्षुहरूले ‘अन्तर्राष्ट्रिय मञ्चमा बुद्धको उपदेश’, ‘लुम्बिनीमा तिब्बती शरणार्थीहरूको प्रवेश’, ‘बुद्धभूमिको सम्मान गर’ र ‘विवादित नियुक्ति फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

केही प्रदर्शनकारीले आनीले लेखेको पुस्तक ‘फूलको आँखामा फूलै संसार’ समेत बोकेका थिए ।

प्रदर्शनकारीहरूले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन् ।

उनीहरूले उपाध्यक्ष पदमा यसपटक तामाङ समुदायबाट प्रतिनिधित्व हुनुपर्ने मागसमेत अघि सारेका छन् ।

नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकतालगायत व्यक्तिगत विवरणका विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले करीब पाँच महिनादेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट गायिका तथा कलाकार आनीलाई नियुक्त गरेको थियो ।

नियुक्तिको निर्णय सार्वजनिक भएलगत्तै त्यसको विरोध सुरु भएको हो ।

आनीको विगत, व्यक्तिगत विवरण र नियुक्तिको औचित्यमाथि प्रश्न उठाउँदै विभिन्न समुदाय तथा व्यक्तिहरूले नियुक्ति फिर्ता लिन माग गरिरहेका छन् ।

माइतीघरमा भएको प्रदर्शन पनि यही विरोधको निरन्तरताका रूपमा देखिएको छ ।

प्रदर्शनकारीहरूले बुद्धको जन्मस्थल लुम्बिनीको गरिमा र समुदायगत प्रतिनिधित्वलाई ध्यानमा राखेर सरकारले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

Published : Monday, 2026 October 26, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया