मासुभात खाएर विरोध गरेको आनीको चेतावनी, नागरिकता, १६ करोड र सम्पत्ति शुद्धीकरणबारे जवाफ आएन
काठमाडौं । सरकारद्वारा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माले आफ्नो विरोध गर्नेहरूलाई धम्कीको भाषा बोलेकी छिन् ।
सोमबार सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध मासुभात र पैसा खाएर विरोध गरिरहेको आरोप लगाएकी छिन् । आनीले भनेकी छिन्, ‘बद्नीयतबाट परिचालित भएर पैसामा लालयित भएर अर्काको छविलाई ध्वस्त पार्छुभन्ने सोँच बोकेर त्यसबाट परिचालित भएर काम नगर्नुस् । हो, एकछिनको लागि पैसा त आउला । मासुभात खाउँला, दशैं, तिहार रमाइलो होला । आफ्नो आफन्त र छोराछोरी, श्रीमती, आमाबुवा सबैलाई कोशेली किन्नु सक्ला ।’
आनीले लुम्बिनी विकास कोषमा आफ्नो नियुक्तिबारे उत्पन्न विवादलाई लिएर भिडियो सन्देश जारी गरे पनि आफूलाई लागेका आरोप र आक्षेपका विषयमा चित्त बुझ्ने जवाफ दिएकी छैनिन् । सन्देशमा चाहिँ जुन कुरामा विवाद उत्पन्न भएको हो, त्यो बाहेक अरु सबै कुरा प्रष्टयाएकी छिन् । आनीको नेपाली नागरिकता र १६ करोड रुपियाँ सम्पत्ति शुद्धीकरणका बारेको सत्यतथ्य के हो त्यसका बारेमा जनताले जान्न उत्सुक छन् । हो त्यसबारेमा चाहिँ आनीले प्रष्ट्याइ दिनुपर्छ । इधर उधर कि बाते गरेर त के अर्थ भो र ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठेका छन् । कि केही नबोल्नु नै उचित हुन्छ । बोल्नै मन हो भने जे विषयमा विवाद हो, त्यस बारेमा चाहिँ प्रष्ट पारिदिनुपर्छ । सांसारिक मोह त्याग गरेकी आनीले सामान्य मान्छेले झै दन्त बझान गरेको अलिक सुहाए जस्तो लागेन भनेर सामाजिक सञ्जालमा टिप्पणीहरू आएका छन् ।
आनीले भिडियोमा भनेकी छिन्, ‘कुनै पनि नियुक्ति हुँदाखेरी असन्तुष्टि, बिरोध यस्ता भइराखेकै कुरा हो । यो भइराखेकै चिज हो भन्ने खालको मलाई लागिरहेको थियो । यसलाई अझै सक्रियताका साथ अगाडि बढाएपछि चाहिँ मैले यो के रहेछ ? भन्ने बुझें ।’
‘अब बुझ्ने कोशिष त गर्नै प¥यो । त्यही क्रममा मैले के बुझे भने, कसले गरिराख्या छ ? किन गरिराख्या छ ? केका लागि गरिराख्या छ ? भन्ने विषयवस्तुहरू मलाई स्ष्पट भयो,’ आनीले चेतावनी शैलीमा भनेकी छिन्, ‘यस्ता कुराहरूबाट म पार लागिसक्या भएर त्यति वास्ता गरेको थिइन् ।’
उनले भनेकी छिन्, ‘हाम्रो देशमा अहिले भूराजनीति निकै सक्रियताका साथ अनुभव गर्न पाइन्छ । आधारहीन लाञ्छनाहरू मप्रति लगाएर नागरिकताको विषय बनिरहेको छ । सम्पत्ति शुद्धीकरण भनेको छ । १८ करोड भनिराख्या छ । यी विषयलाई लिएर मलाई बद्नाम तुल्याउने, एकदमै अपराधिक छविको भनेर बनाउने खोजी राखेको छ ।’
‘अब सजग हुने बेला आयो । अन्य जातजातिलाई अपमान गर्ने या अन्य साम्प्रदायलाई अपमान गर्ने, ठेस पु¥याउने अभिव्यक्तिहरू या त्यस्ता अपशब्दहरू, अपमानजनक शब्दहरू, भाषा हामीले प्रयोग गर्नु हुन्न,’ उनले चेतावनी शैलीमा भनेकी छिन् ।
‘मलाई लाञ्छना लगाइराखेको छ यो विषयवस्तुलाई लिएर प्रश्न छ, बुझ्न मन छभने यो सम्पत्ति शुद्धीकरण विभाग पनि छ नेपालमा, यहीँ काठमाडौंमै छ । सजिलोसँग पुग्न सकिन्छ । त्यहाँ गएर मेरो विषयवस्तुलाई लिएर मुद्दा दायर भएको रहेछ कि रहेनछ ? भन्ने कुरा तपाईहरू त्यहाँ गएर बुझ्नुस् । मेरो राष्ट्र बैंकको केशमा यो पैसाको विषय छभने राष्ट्र बैंक पनि यहीँ बालुवाटारमा छ । अन्य विभागहरू पनि होला । त्यहाँ गएर बुझ्नुस् हजुर । अनि मेरो नागरिकताको विषयमा बुझ्नु छभने हाम्रो देशको जिम्मेवार निकाय छ । जहाँबाट नागरिकता बनाइन्छ । त्यहाँ पनि गएर बुझ्नुस् हजुर । सत्यतथ्य राम्ररी गर्नुस् । यसरी अनायसै समय, शक्ति नास नगर्नुस्,’ आनीले गोलमटोल स्पष्टीकरण दिएकी छिन् ।
‘कसैले लाञ्छना लगायो, आरोप लगायो भनेर म बिचलित भएको छैन । अलिकति दुःखी भएको छु । र, चिन्तित भएको छु । अप्रिय घटना नघटोस् । जातीय घटना नदोहरियोस् । बिचार पुर्याउनुस्,’ उनले भनेकी छिन् ।
दशैंको मुखमा विरोधबाट बच्न झण्डै दुईतिहाइको सरकारले आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति गरेपछि निरन्तर विवादित व्यक्तिलाई नियुक्त गरेको भन्दै सरोकारवालाहरूले प्रदर्शन र विरोध गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया