विवादित आनीको विरोध गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

भैरहवा । लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीस्थित सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका एसपी जनकबहादुर शाहीले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को फोटोमा आगो लगाएपछि पक्राउ गरिएको एसपी शाहीले बताएका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६१ का खानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चन्द्रकिशोर शाहद्वारा मंगलबार बिहान जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । खानसँगै लुम्बिनी साँस्कृतिक नगरपालिका वड नं. ९ बस्ने वर्ष ३३ का वाजिउद्दिन मुसलमान पनि पक्राउ परेका छन् ।

उनीहरूलाई कात्तिक ९ गते इलाका प्रहरी कार्यालय, लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.६ स्थितमा सार्वजनिक स्थानमा उत्श्रृंखल गतिबिधी गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पु¥याउने कार्य गरेको अभियोगमा नियन्त्रणमा लिएको विज्ञप्तिमा प्रहरीले उल्लेख गरेको छ ।

सरकारले लुम्बिनीमा विवादित पात्र आनीलाई नियुक्ति गरेपछि महाअभियानले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

अभियानका संयोजक खानलाई तत्काल रिहाइ गर्न लुम्बिनी बचाउ अभियानका सहसंयोजक रामविकास चौधरीले माग गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गायिकासमेत रहेकी बौद्ध भिक्षु आनीलाई ३० असोजमा बसेको मन्त्रिपरिषद बैठकले विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

आनीलाई विकास कोषमा नियुक्त गर्ने सरकारको निर्णय भने विवादमा परेको छ । आनीले पनि सामाजिक सञ्जालमार्फत् सोमबार मात्रै आफूविरुद्ध मात र भात खाएर विरोध भइरहेको चेतावनी दिएकी थिइन् । उनले आफ्नो विरोध गर्नेहरूले धार्मिक द्वन्द्व फैलाउने प्रयास गरेको समेत आरोप लगाएकी थिइन् ।

आनीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले तिब्बती नागरिक, उनको नागरिकता, १६ करोड, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा कुरा उठाउँदै आएका छन् । आनीले फेसबुक लाईभमा सो विषयमा खुलेर केही जवाफ दिएकी छैनिन् । उनको आत्मबृत्तान्त किताबमा आफू तिब्बतीय मूलको भएको उल्लेख गरेकी छिन् ।

Published : Tuesday, 2026 October 27, 8:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया