एमालेभित्र विवाद भएका बेला नेकपा (एकीकृत) दर्तामा गयो, बालुवाटारमा खैलाबैला

काठमाडौं । सत्तारुढ एमालेभित्रको आन्तरिक विवादले पार्टी विभाजनको अन्तिम संघारमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन दिएको खुलासा भएको छ ।

एमालेका नेता समेत रहेका जीवन राईले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । राईले वैशाख ७ गते आयोगमा निवेदन दिएको खुलासा भएको छ ।

एमालेका नेता राई आफैले पार्टी दर्ता गरेका हुन् वा अरु कसैले दर्ता गर्न लगाएको हो ? केही भनिएको छैन ।

राईले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि बालुवाटारले चासो देखाएको छ । यो नयाँ पार्टी वरिष्ठ नेता माधव नेपाल समूहले दर्ता गर्न निवेदन दिएको त होइन ? भनेर बालुवाटारभित्र चर्चा भएको एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने एक केन्द्रीय सदस्यले बताए ।

एमालेका वरिष्ठ नेता माधव नेपालले आइतबार एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा नयाँ पार्टी गठन गर्ने बताएका थिए ।
निर्वाचन आयोगले पनि राईलाई अझै दल दर्ताको प्रमाणपत्र दिएको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)को अध्यक्षमा राई आफै छन् । उपाध्यक्षमा कल्पना गुरुङ रहेकी छिन् । महासचिव विनोद खुलाल रहेका छन् भने सचिव ऐनविक्रम कुँवरलाई जिम्मेवारी दिइएको छ । नयाँ पार्टीको कोषाध्यक्षको जिम्मेवारी सुशील खनालले पाएका छन् ।

Published : Sunday, 2021 May 23, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया