यस्तो आयो कांग्रेस संसदीय दलको प्रतिक्रिया, बालुवाटार–शीतल निवासमा पूरै हँगामा
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री पद खाली नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ प्रधानमन्त्रीका लागि आह्वान गरेको पत्रलाई असंवैधानिक भएको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका कांग्रेसका प्रमुख सचेतक खाणले पहिला प्रधानमन्त्रीको राजीनामा आएर मात्रै नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्नुपर्ने बताए । उनले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा संविधान विपरितका कार्यमा परिचालित भएको भन्दै आक्रोश पोखरेका छन् ।
‘संविधानबाट सरकार बनाउने जुन प्रक्रिया छ । त्यो प्रक्रियाको विपरित राष्ट्रपतिको पत्र आएको छ’, उनले भने, ‘भरखरै केपी ओलीजीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीको नियुक्ति लिनुभएको छ ।’
‘नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने हो । उहाँले भोलि, पर्सी विश्वासको मत लिए पनि हुन्छ नि ?’, खाणले भने, ‘विश्वासको मत नै नलिइकन संविधानको धारा ७६ को उपधारा (२) मा नगइकन जम्प गरेर उपधारा (५)मा जानुभयो ।’
‘राष्ट्रपतिजीले प्रधानमन्त्रीले विश्वासको मत लिन्छ कि लिँदैन ? विश्वासको मत प्राप्त गर्छ कि गर्दैन ? यो कुरा राष्ट्रपतिले अन्दाजको भरमा गर्न मिल्दैन’, उनले भनेका छन्, ‘तथ्यगत रुपमा प्रमाणित हुनु प¥यो । प्रधानमन्त्रीजीले राजीनामा पनि दिनुभएको छैन । के आधारमा गर्नुभयो ?’
खाणले भने, ‘प्रधानमन्त्री पद खाली पनि छैन । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पूरा गरेर प्रधानमन्त्री पदमुक्त पनि हुनुभएको छैन ।’
‘प्रधानमन्त्री पदमुक्त नभइकन कसरी राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको लागि प्रक्रियाको थालनी गर्न मिल्छ ? गम्भीर षड्यन्त्र भएको छ’, कांग्रेस प्रमुख सचेतक खाणले भनेका छन् ।
‘प्रधानमन्त्रीबाट अद्योगत हुँदाहुँदै छ । प्रधानमन्त्री पदबाट आफू पदमुक्त नहुने, सदनप्रति उत्तरदायी नभएको कारणले सदनलाई फेरि विघटन गर्ने, मुलुकलाई प्रतिनिधि सभा बिहीन बनाउने सत्ता आफूले कब्जा गर्ने गम्भीर योजनाअन्तर्गत नै संविधानको धारा ७६ को उपधारा (५) ल्याइएको छ । यो कुरा आपत्तिजनक छ’, उनले भने ।
‘राष्ट्रपतिले संविधानको पालना गर्नुपर्छ । संविधानको रक्षा गर्नुपर्छ’, खाणले भने, ‘राष्ट्रपतिबाटै संविधानको अबहेलना भयो, संविधानमाथि प्रहार भयो भने मुलुकको लागि पनि दुर्भाग्य हुन्छ ।’
ओलीले विश्वासको मत लिएका छैनन् । ओलीले राजीनामा पनि दिएका छैनन् । यस्तो अवस्थामा राष्ट्रपतिले २१ घण्टाको समय दिएर नयाँ प्रधानमन्त्री बनाउन आह्वान गरेपछि कांग्रेस नेता खाणले संविधान विपरितको कार्य भएको भन्दै विरोध गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया